राप्रपा कार्यसम्पादन समिति बैठक जारी, मिश्र र राणाबारे के गर्ला निर्णय ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । शनिबार अपराह्न धुम्बाराहीमा बसेको बैठकमा वर्तमान परिस्थितिबारे समीक्षा र पार्टीको धारणा तय गर्नेबारे छलफल केन्द्रित रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरू उपस्थित छन् । बैठकअघि अध्यक्ष लिङ्देन, पशुमति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीलगायतले भद्रकाली पुगेर वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई भेटेका थिए ।
मिश्र र राणालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि भएको प्रदर्शनपछि तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापना समितिले पनि प्रसाईंको प्रदर्शनलाई समर्थन गरेको थियो । उक्त समितिमा मिश्र र राणा पनि थिए । राप्रपा नेताहरूले आफूहरु संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनहरूमा नेतृत्व र ऐक्यबद्धता जनाउने गरे पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताएका छन् ।
तर, भिडलाई उक्साउन राप्रपा वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले कुनै पनि आन्दोलन नेतृत्वमा नहुने भन्दै जनतालाई स्वतःस्फुर्त विद्रोहमा आउन अपिल गरेका थिए । सोही सन्दर्भमा बसिरहेको राप्रपा वैठकले के निर्णय गर्ला भन्ने आम चासोको विषय बनेको छ ।