प्रचण्डको दावी : राजावादीको षडयन्त्र समाजवादी मोर्चाले असफल पार्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूको षड्यन्त्रलाई समाजवादी मोर्चाले असफल बनाएको दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चाले ठूलो जनसमुदायबीच विरोध सभा नगरेको भए राजावादीहरूले गम्भीर आपराधिक घटनाहरू निम्त्याउने योजना बनाएको सूचना आफूले प्राप्त गरेको बताएका छन् ।
उनले राजावादीहरूलाई आततायी र विवेकशून्य तत्वको संज्ञा दिँदै विगतमा निरंकुश राजतन्त्र सत्तामा रहँदा प्रेसमाथि अंकुश लगाउने गरेको र अहिले पनि उनीहरूको आक्रमणको निशाना प्रेस नै बनेको जिकिर गरे । सत्य सूचना प्रवाह गरी अग्रगमन र स्थिरताको चेतना फैलाउने प्रेस जगत प्रतिगामी तत्वहरूबाट सचेत रहनुपर्ने उनको भनाइ थियो ।
उनले भने, “निरंकुश राजावादी तत्वहरूले तीनकुनेमा आततायी र विवेकशून्य आपराधिक घटनाहरू घटाउने तयारी गरेका थिए । नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पश्चगमन फेरि एक पटक नयाँ सन्दर्भमा टकराइरहेका थिए। आज बिहान धेरैले मलाई सम्पर्क गरेर भनेका छन्-तीनकुनेका जनताले देशभर हजारौंको संख्यामा जनता नउभ्याएको भए, लोकतन्त्र र गणतन्त्रप्रतिको प्रतिबद्धता देखाउन नसकेको भए ठूला घटनाहरू घटाएर प्रतिक्रान्तिलाई चरममा पुर्याउने षड्यन्त्र थियो। धेरैको ज्यान बच्यो, धनजनको क्षति हुनबाट जोगियो । दुई जनाको ज्यान गयो, थुप्रै गाडी र घरहरू जलाइए, संघसंस्था र पार्टीका कार्यालयहरूमा आगजनी भयो ।’
अध्यक्ष प्रचण्डले गणतन्त्रवादी दलहरूले लोकतन्त्रप्रतिको प्रतिबद्धता र संकल्प स्थापित गर्न ठूलो संख्यामा जनसमुदायबीच विरोध सभा गरेर उदाहरण प्रस्तुत गरेको बताए । गणतन्त्रमाथि प्रहार भइरहेका बेला सरकारमा रहेका दलहरूले आफ्ना क्रियाकलाप सच्याएर गणतन्त्रलाई बलियो बनाउन लाग्नुपर्ने उनले जोड दिए ।