त्रिवि उपकुलपतिले किन राजीनामा दिनु भयो थाहा छैन : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताएकी छन् । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस विषयमा आफू अनभिज्ञ रहेको बताएकी हुन् ।
आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको बताइन् । उनले शनिबार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गरिन् । किन राजीनामा दिएको हो भन्नेबारे औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिबद्धता जनाइन् ।
मन्त्री भट्टराईले भनिन्, ‘हिजो बिदाको दिन भयो । त्यस कारण आजसम्ममा थाहा हुन्छ । त्यसपछि हामी जानकारी गराउनेछौं । समितिलाई जानकारी गराउनेछौं ।’ बरालले शनिबार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका थिए । उनले बिरामीको कारण देखाउँदै राजीनामा दिएका हुन् ।