शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह


२०८२ बैशाख ११ बुधबार १६:५८ बजे

काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ। गत चैत २० दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा प्रभावित हुँदै आएको छ ।

‘तपाईहरुका जायज मागहरु पूरा हुनुपर्छ । हामीले नि त्यही नै भनेको छौँ तर आन्दोलन निरन्तरता दिए पनि स्वरूप फेर्नुहोस्’, सिजपका महासचिव तिलोत्तम पौडेलले भने, ‘शिक्षाको आधारभूत प्रवेश भर्ना अभियान, बाँकी भएकाको नतिजा प्रकाशन र कक्षा १२ को परीक्षा नरोक्न आवश्यक विकल्प खोज्नुहोस् । बालबालिकाको अधिकारप्रति थप सचेत हुनुहोस् ।’ नेपालको संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा प्राप्तिको सुनिश्चितता गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकम ३४ दशमलव ८४ प्रतिशत बालबालिका रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका थिए । निकासकै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल पूरा गर्न सकिने मागबारे मन्त्रिपरिषद्का प्रस्ताव पेस गर्ने तयारी गरेका बेला शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाले अन्योल उत्पन्न भएको छ ।

विगतमा भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर महासंघले आन्दोलन गर्दै आएको छ । मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद् बैठकको आह्वान गर्ने निर्णय गरेको थियो । संसदीय समितिमा विचाराधीन रहेको विधेयकलाई यही वैशाखको तेस्रो सातासम्म संसद्को बैठकमा प्रस्तुत गर्न विधायकी पहल भइरहेको छ ।

मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७