आन्दोलनरत शिक्षकका नारा : ओइ सरकार ओइ, शिक्षा ऐन खोइ ?

काठमाडौं । काठमाडौंमा २८ दिनदेखि आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेका छन् । आज (मंगलबार) नयाँ बानेश्वर क्षेत्रमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेका हुन् । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा सुरक्षाकर्मीहरूले रोकेका छन् । उक्त बेला प्रहरी र शिक्षकबीच धकेलाधकेल भयो । उनीहरूले भनेका छन्, ‘बरु जागिर छोडिन्छ, निषेधाज्ञा तोडिन्छ ।’
देशभरका शिक्षक कर्मचारीहरूले चैत २० गतेदेखि शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गरेको काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । विद्यालय शिक्षा ऐन ल्याउनुपर्नेसहितका माग रोखर आन्दोलित उनीहरुले आज पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । आन्दोलनरत शिक्षकहरुले शिक्षा ऐन खोज्दै विभिन्न नारा समेत लगाएका छन् ।
उनीहरुको ‘साह्रै दुःख पाइयो, शिक्षा ऐन चाहियो’, ‘अग्रगामी शिक्षा ऐन दिलाइदे, हामीलाई स्कुल पठाइदे,’ ‘हामी सडक छोड्दैनौं, शिक्षा ऐन नआए । हामी मर्न तयार छौँ, शिक्षा ऐन नआए’, ‘ओइ सरकार ओइ, शिक्षा ऐन खोइ ?’ लगायतका नारा लगाएका थिए । शिक्षक आन्दोलनलाई सम्बोधन गर्ने भन्दै सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।