झापामा प्रहरीले चलायो दुुई राउण्ड गोली

झापा । झापामा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । गोली चलाएर नियन्त्रणमा लिने प्रयास भए पनि लागुऔषध कारोबारी भने फुत्किएका छन्। आज (सोमबार) बिहान पौन ९ बजेतिर झापाको कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गरेको थियो । सो क्रमा बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई रोकेर जाँच गर्न लाग्दा उनी आफ्नो झोला समेत छाडेर फरार भएका थिए ।
ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली चलाए पनि उनी फुत्किएर भागेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जनाएका छन् । ती व्यक्ति मोटरसाइकल र झोला समेत छाडेर भागेका थिए । उक्त झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।