बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । इण्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो । निगमका अनुसार भारतबाट पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्य बढेर आएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १५९ र डिजेल तथा मट्टीतेल १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ । निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा २२ अमेरिकी डलरले घटाइएको छ । नयाँ मूल्य राति १२ बजेदेखि लागू हुनेछ ।