‘नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ’

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताएका छन्।
बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छ, ‘हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–भेशभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना नै हाम्रो राष्ट्रियताको मेरुदण्ड हो, एक–अर्काप्रतिको सम्मानर सद्भावले हाम्रो राष्ट्रिय भावना, अखण्डता र सार्वभौमिकता अझ सशक्त भएको छ।’
नेपालको संविधानले गणतन्त्र, संघीयता, समावेशिता, समानता, धर्मनिरपेक्षता र कानुनी राज्यको आधारमा सबै नेपालीनागरिकको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधान सम्पूर्ण नेपालीको साझा दस्तावेज भएको जसले सबै धर्म, जात, संस्कृतिर समुदायको सम्मानर संरक्षण सुनिश्चित गरेको पनि बताएका छन्।
मुस्लिम धर्म ग्रन्थकाअनुसार करिब चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा परमेश्वरले ‘आफ्नो सबैभन्दा प्रिय वस्तु चढाऊ’ भन्ने आज्ञा दिएको देखेपछि उनले आफ्नै छोरालाई बलिदान गर्न तम्सेका थिए । तर, वास्तविक बलिदानको क्षणमा छोराको सट्टा एक भेंडा चढाइएको थियो। यही समर्पण, विश्वास र ईश्वरप्रतिको निष्ठाको स्मरणस्वरूप बकर इद मनाइन्छ । यस पर्वको मूल सन्देश ‘जीवन र मरण समेत ईश्वरका लागि समर्पित होस्’ भन्ने हो।
सभामुख घिमिरेले भनेका छन्, ‘बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’
‘बकर इदबाट धार्मिक सहिष्णुता कायम गर्न योगदान पुग्छ’
उपसभामुख इन्दिरा रानाले बकर इद (इद उल अज्हा) पर्वले त्याग, समर्पण र एकताको भावना पैदा गरी सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन्।
इस्लाम धर्मावलम्बीको महान पर्व बकर (इद उल अज्हा) को अवसरमा आज स्वदेश तथा विदेशमा रहेका समस्त मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरेकी हुन्। उनले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र भएको उल्लेख गर्दै संविधानले सबै धर्म, जाति, संस्कृति र समुदायलाई समानअधिकार दिएको बताएकी छन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘विभिन्न जातजाति, धर्म र समुदायअनुसारका आ(आफ्नै संस्कृति, परम्परा र चाडपर्वले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्, हामी सबै नेपाली भए पनि अलग–अलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएका छौँ, विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो।’
बकर ईदमा मुस्लिम समुदायले नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरी हर्षोउल्लासका साथ मनाउने गर्दछन्। भाइचारा, पारिवारिक एकता र सद्भावका रूपमा मनाइने यो पर्वमा पवित्रस्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष लाखौँ मुस्लिम समुदायका नागरिक पुग्दछन्।
बलिदान (कुर्बानी) को पर्वका रूपमा मनाइने यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। उपसभामुख रानाले बकर ईदले धार्मिक सहिष्णुता, सामाजिक सांस्कृतिक सद्भाव एवं राष्ट्रिय एकता कायम गर्न विशिष्ट भूमिका खेल्ने विश्वाससहित सबैलाई बकर ईदको शुभकामना दिएकी छन्।