बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार २९५ पुग्यो
१ हजार ३० शव व्यवस्थापन
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु भएका १ हजार २९५ जनाको शव शुक्रबार साँझसम्म फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा १९४ वटा छन्।
भारतमा फेला परेको र नवलपरासी पश्चिममा बुझाइएको १८ शवसमेत यसमा समावेश छन्। फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हालसम्म २२२ महिला, ३५५ पुरुष र पहिचान नखुलेका ४५३ गरी १ हजार ३० वटा शव व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका ८४६ गरी कुल २ हजार १०६ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार २७० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ। बाढीपछि बेपत्ता भएका ४ हजार ८९८ जनाको खोजी कार्य जारी छ।
यस्तै, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार ६५५ जनालाई राखिएको छ। प्रहरीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा सम्बन्धित निकायसँगको समन्वयमा उद्धार र खोजी कार्य गरिरहेको छ। विभिन्न स्थानमा अवरुद्ध सडक तथा बाटो खुलाउने कामसमेत जारी रहेको प्रहरीले जनाएको छ।
.gif)

.png)

