पुल बग्यो, बाटो रोकियो; तुइनमा अडिएको छ घर फर्किने आशा


२०८३ भदौ १९ शुक्रबार १७:२८ बजे

१० भदौ २०८३ । नेपालीका लागि मात्र होइन, मानव सभ्यताको इतिहासमै बिर्सनलायक एउटा कालो दिन । तर यसलाई बिर्सन पनि कसरी सकिएला र ? यति गहिरो घाउ लागेको छ, जुन समयसँगै पुरिँदै गए पनि इतिहासको पानाबाट कहिल्यै मेटिने छैन । गहिरो घाउचोट भएर बल्झिरहनेछ, युगौंसम्म । भोटेकोशीले बगाएका ती सैयौं प्रियजनहरु, बेपत्ता ती आफन्ताहरु, सधैं सधैं सम्झना हुनेछ । 

नुवाकोटको विदुरदेखि त्रिशूली जोड्न बनाइएको वैकल्पिक मार्ग-तुइन

नेपालतर्फको हिमनदी भत्किएर चीनको ल्हेन्दे नदीमा खस्यो । त्यही हिमनदीको विनाशकारी वेगले ल्हेन्दे नदीलाई उर्लायो र त्यो ‘हिम सुनामी’ बनेर भोटेकोशीमा आइपुग्यो ।  कुनै भयावह चलचित्रको दृश्यझैँ भोटेकोशी हुँदै त्रिशूलीसम्म पुगेको त्यो बाढीले सयौँ मानिसलाई बगायो, हजारौँ घर उजाड्यो, पुलहरू बगायो। बग्न बाँकी केही रहेन।
तर बाढीले बगाएको केवल घर, सडक र पुल मात्रै थिएन । यसले मानिसहरूको दैनिकी बगायो, पढाइ रोक्यो, रोजगारी खोस्यो र परिवारलाई एकअर्काबाट टाढा बनायो । कसैको घर उजाडियो, कसैको विद्यालय हरायो, कसैको रोजीरोटी खोसियो। र कसैका लागि त आफ्ना मान्छेसम्म पुग्ने बाटो नै बग्यो । काठमाडौंबाट त्रिशुली हुँदै रसुवा पुग्दा यस्ता त्रासद र पीडादायी दृश्यहरु देख्यौं की मन नै टुक्रा हुन्थ्यो, छातीमा बेस्सी गाँठो हुन्थ्यो ।  ती सैयौ कथाहरु क्रमस भन्दै जानेछु । अहिले भन्न लागेको कथा हो, तुइनको कथा । 

बाढीले पुल बगाएपछि ९ दिनदेखि घर फर्किन तुइनको प्रतीक्षामा कक्षा ७ मा अध्ययनरत सचिन अधिकारी।

अहिले वारिपारि गर्ने एकमात्र सहारा बनेको छ, तुइन ।  तुइनको लामो लाइनमा भेटिए, कक्षा ७ मा अध्ययनरत सचिन अधिकारी । सचिन त्रिशुली माध्यमिक विद्यालयमा पढ्थे । भदौ १० गते बाढी आउनुअघि उनी विद्यालय जाने तयारीमा थिए ।  तर विद्यालय पुग्न नपाउँदै बाढीले उनको विद्यालय नै बगाइदियो। आज त्यहाँ विद्यालयको भवन छैन। कक्षाकोठा छैन । विद्यार्थीको चहलपहल छैन । बाँकी छ त केवल बगर ।
विद्यालय बग्यो, पढाइ रोकियो । तर सचिनको पढ्ने सपना भने रोकिएको छैन । सचिनको बसाइँ विदुरमा भए पनि उनको घर तिर्शुलीमा छ। मोटरेबल पुल बगेपछि उनी आठ दिनदेखि आफ्नो घर पुग्न सकेका छैनन्। परिवारबाट टाढा छन्। आफ्ना मान्छेको अनुहार हेर्न पाएका छैनन्। त्यसैले अहिले उनी तुइनको पालो कुरिरहेका छन्, ‘घर पुग्न, आमाबुबालाई भेट्न र आफ्नै घरको आँगन टेक्न ।’

तुइँनको डोरी समातेर वारिपारि गर्ने क्रममा सचिनको अनुहारमा बालसुलभ उत्साहभन्दा बढी घर पुग्ने अधैर्य प्रतीक्षा देखिन्छ ।  बाढीले उनको विद्यालय खोस्यो। बाटो खोस्यो। घर पुग्ने सहजता खोस्यो । तर एउटा कुरा भने खोस्न सकेन, ‘फेरि विद्यालय फर्किएर पढ्ने उनको सपना ।’ उनीलाई विश्वास छ, ‘कुनै दिन नयाँ ठाउँमा विद्यालय फेरि खुल्नेछ । कक्षाकोठामा फेरि विद्यार्थीको चहलपहल हुनेछ ।’  अनि उनी पनि फेरि किताब–कापी बोकेर विद्यालय जानेछन् । 
अहिलेका लागि भने उनको विद्यालय जाने बाटो बाढीले रोकेको छ । घर जाने बाटो पनि बाढीले रोकेको छ। सचिनको छेउमै तार्केश्वरका युगप्रसाद अधिकारी पनि आफ्नो पालो पर्खिरहेका छन् । उनको गन्तव्य पनि उही त हो, घर । मोटरेबल पुल बगेपछि परिवारसँग छुट्टिएका युगप्रसाद अहिले घर पुग्न तुइँनको लाइनमा छन् । लामो लाइनतिर हेर्दै उनको मनमा एउटै चाहना छ, ‘अलि छिटो मेरो पालो आए हुन्थ्यो ।’ किनकि यो केवल तुइँन चढ्ने पालो होइन । एउटा त्रासदीपछिको एउटा अलग दूरी पार गर्ने समय पनि त हो ।  यो घर पुग्ने पालो हो । परिवार भेट्ने पालो हो । आफ्ना मान्छेको अनुहार हेर्ने पालो हो ।

तुइनबाट वारिपारि तर्न स्थानीयलाई सहयोग गर्दै नेपाल प्रहरी।

तुइँनको लाइनमा उभिएका हरेक मानिससँग आफ्नै कथा छ। कसैलाई बिरामी आफन्त भेट्न हतार छ। कोही रोकिएको काममा फर्किन खोजिरहेका छन् । कोही घरको अवस्था बुझ्न आतुर छन् । कोही आफ्ना मान्छेबाट छुट्टिनुपरेको पीडा बोकेर उभिएका छन् । कसैको हातमा झोला छ, कसैको काँधमा जिम्मेवारी। कसैको आँखामा थकान छ, कसैको अनुहारमा घर पुग्ने हतार । गन्तव्य सबैको फरक छ । आवश्यकता फरक छ ।  कथा फरक छ । तर बाध्यता एउटै छ—बाढीले बाटो रोकिदिएको छ। त्यसैले अहिले उनीहरू सबैको यात्रा एउटै ठाउँमा आएर रोकिएको छ-तुइँनको लाइनमा ।

नुवाकोटको विदुरदेखि त्रिशूली जोड्ने पैदल मार्गका रूपमा बनाइएको तुइनबाट आफ्नो घर जान पालो कुरिरहेका स्थानीय यात्रुहरू।

यो लाइनमा केवल मानिसहरू उभिएका छैनन् । यहाँ घर फर्किने चाहना, परिवार भेट्ने आतुरता र सामान्य जीवनमा फर्किने आशा पनि पालो कुरेर उभिएको छ।
विदुर नगरपालिका–१०, केटफुटारका आर्यन शर्माका लागि यो तुइँन अहिले बाढीले छुट्याएका बस्ती र बजार जोड्ने अस्थायी पुल बनेको छ ।  उनका अनुसार तुइँनले विदुर–९ र १० लाई मात्र होइन, वडा नम्बर ८, ९ र १० हुँदै तिर्शुली बजारका विभिन्न क्षेत्र, गौरीबेंसी र गल्छीसम्मका नागरिकलाई राहत दिएको छ । 
तर राहत बनेको यही तुइँन आफैंमा अर्को कठिनाइ पनि बनेको छ । मानिसहरूले हातैले तानेर वारिपारि गर्नुपर्छ। जनशक्ति कम छ। त्यसैले तुइँनको लाइन दिनहुँ लामो हुन्छ । घण्टौँसम्म पालो कुर्नुपर्ने बाध्यता छ । 

आर्यन बिहान साढे ६ देखि ७ बजेतिरै तुइँनस्थलमा आइपुगेका थिए । तर धेरै समय बितिसक्दा पनि करिब १० देखि १५ जना मात्रै वारिपारि गर्न सकेका थिए । 
उनको सुझाव छ, ‘जेनेरेटरबाट तान्ने प्रणालीको व्यवस्था गर्न सके तुइँनलाई अझ छिटो र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ ।’ अहिले १५ जना वारिपारि हुने समयमा ४०–५० जनासम्मलाई वारिपारि गराउन सकिने उनको विश्वास छ।

आर्यनको आवाजमा आफ्नै पीडा पनि मिसिएको छ । ‘कति आमाहरू छोरा–छोरी भेट्न नपाएर तड्पिरहेका छन्, कति छोरा–छोरीहरू आमाबुबा भेट्न नपाएर छटपटाइरहेका छन्,’  उनी भन्छन्, ‘दिनभरिमा ५० जना मात्रै वारिपारि गराउन सके पनि हाम्रो लागि ठूलो उपलब्धि हो ।’ 
स्थानीयवासी तुइँन निर्माण गरेर आवतजावतको बाटो खोलिदिएकोमा नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई धन्यवाद दिन्छन्। तर उनीहरूको अपेक्षा त्यतिमै सीमित छैन।
उनीहरू चाहन्छन्, यो अस्थायी संरचना अझ सुरक्षित, बलियो र व्यवस्थित बनोस्। जबसम्म मोटरेबल पुल बन्दैन, यही तुइनले उनीहरूको दैनिकीलाई केही सहज बनाइरहोस्। किनकि अहिले तुइन उनीहरूका लागि केवल नदी तर्ने साधन होइन । सचिनका लागि यो घर फर्किने बाटो हो।

युगप्रसादका लागि परिवार भेट्ने आशा हो । आर्यनका लागि बाढीले छुट्याएको समाज जोड्ने सहारा हो । बाढीले पुल बगायो, विद्यालय बगायो । सडक बगायो, बाटो रोक्यो।
तर मानिसहरूको घर फर्किने चाहना रोक्न सकेन, आफ्ना मान्छे भेट्ने आशा रोक्न सकेन, फेरि सामान्य जीवनमा फर्किने सपना रोक्न सकेन । अहिले ती सबै चाहना र सपना एउटै तुइँनको डोरीमा अडिएका छन् । 
डोरी कमजोर होला,  यात्रा जोखिमपूर्ण होला।पालो लामो होला। तर त्यही डोरी समातेर मानिसहरू वारिपारि गरिरहेका छन्, आफ्नो घरतिर, आफ्ना मान्छेतिर, आफ्नै जीवनतिर। पुल नबन्दासम्म यही तुइनले बाढीले छुट्याएको वारिपारि जोडिरहनेछ । मानिसलाई मात्र होइन-परिवारलाई, पढाइलाई र रोकिएको जीवनलाई पनि । 


 

लेखक चिनारी

प्रविन कुलुङ राई
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७