नागढुङ्गा–नौबिसे सडक पाँच दिन बन्द हुने

काठमाडौँ । नागढुङ्गा–नौबिसे सडक खण्ड भोलि (सोमबार) देखि थप पाँच दिन बन्द हुने भएको छ। यसअघि जेठ १० गतेदेखि आजसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेकोमा आज फेरि समय थप भएको हो । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर भोलिदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो।
सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ। नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ।