संघीय संसदको दुबै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुबै सदनको वैठक बस्दै छ। आज (सोमबार) राष्ट्रिय सभाको बैठक बस्दैछ। दिउँसो सवा १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन्।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । (पानीजहाज सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। छैटौँ अधिवेशनको २५ औँ बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको हो । तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ । त्यस्तै राज्य व्वस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।