प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो उत्रिन वाईसीएललाई प्रचण्डको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो र दरोरुपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन्। आज (सोमबार) माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन्।
जनयुद्ध र जनआन्दोलनबाट उपलब्धीहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उनले त्यसका विरुद्ध सशक्तरुपमा उत्रिन भनेका हुन्। ‘प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले हामीले जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरूलाई उल्ट्याउन सकिन्छ कि भनेर लागिपरेका छन्। कहि न कहि जनयुद्धको, माओवादी आन्दोलनको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोशिस पनि भइरहेका छन्, ‘उनले भने, ‘यो टिमले पार्टीको लिडरसीपमा, पार्टीको आदेशमा सबैखाले प्रतिक्रियावादी र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो सावित गर्नेछ भन्ने मलाई लागेको छ।’
संगठनलाई गतिशीत बनाउन वाईसीएलले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पार्ने काममा पार्टी रहेको र यसमा युवा र वाईसीएलको महत्वपूर्ण भूमिका रहने बताए। नयाँ क्रान्तिको माध्यमबाट मुलुकमा राजनीतिक स्थायीत्व र भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धि कायम गर्ने मुख्य जिम्मेवारी माओवादीको भएको जिकिर गरे।