भृकुटीमण्डपमा एमाले केन्द्रीय कमिटी बैठक, विधान संशोधनबारे पक्ष विपक्षमा बहस
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। एघारौँ महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा आज सुरु हुने बन्द सत्रको कार्यक्रम पछि सारेर एमालेले केन्द्रीय कमिटीको अन्तिम बैठक राखेकोको हो ।
शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन समारोह सम्पन्नपछि आज बिहानै भृकुटीमण्डपमा बन्दसत्र सुरु गर्ने भनेको एमालेले अचानक केन्द्रीय कमिटीको बैठक बोलाएको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन प्रस्ताव राख्न लागेको सूचना पाएको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विरोध गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकमा विधान संशोधन नगर्ने सहमति भएको थियो ।
महाधिवेशनबाट विधान संशोधन गरेर पदाधिकारी थप्नुपर्ने दबाबमा अध्यक्ष ओली छन् । तर, विधान संशोधन गर्ने भए ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान छोड्न नहुने पक्षमा पोखरेल समूह छ । यसो भएमा ओली पुनः अध्यक्ष बन्ने बाटो बन्द हुनेछ ।
महाधिवेशन उद्घाटनको अघिल्लो दिन शुक्रबार साँझ बसेको सचिवालय बैठकमा पदाधिकारीसहित केन्द्रीय समितिको सदस्य संख्या बढाउन विधान संशोधनको प्रस्ताव पेस गर्दा पोखरेल पक्षको विरोधले ‘ब्याक’ भएका अध्यक्ष ओलीले आज केन्द्रीय कमिटी बैठकमा त्यही प्रस्ताव दोहोर्याउने अनुमान गरिएको छ।
यस्तै ईश्वर पक्षले मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पनि असहमति जनाएको छ।
.gif)

.png)




