कुलमानसँग सुदन किराती नजिकिएपछि हर्क साम्पाङले भने : सुदन किराती हाम्रो खम्बा
लेखेका छन्, \'सुदन किरातीज्यू श्रम संस्कृतिको खम्बा बनेर जोडिइसक्नुभएको छ । यो र त्यो भनेर अफवाह नफैलाउनुहोला ।\'
काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वमन्त्री सुदन किराती आफ्नो पार्टीको बलियो खम्बाका रूपमा जोडिइसकेको दाबी गरेका छन् । साम्पाङ र किरातीबीचको सहकार्यलाई लिएर विभिन्न अड्कलबाजी र चर्चा चलिरहेका बेला साम्पाङले सामाजिक सञ्जालमार्फत यस्तो प्रष्टीकरण दिएका हुन् ।
कुलमान घिसिङ र साम्पाङबीचको वार्तापछि विकसित राजनीतिक घटनाक्रमका बीच उनले किरातीको भूमिकाबारे मुख खोलेका हुन् । बाहिर चलेका अफवाहहरूको खण्डन गर्दै उनले लेखेका छन्, 'सुदन किरातीज्यू श्रम संस्कृतिको खम्बा बनेर जोडिइसक्नुभएको छ । यो र त्यो भनेर अफवाह नफैलाउनुहोला ।'
पछिल्लो समय किराती वरिष्ठ नेताका रूपमा श्रम संस्कृति पार्टीमा आबद्ध हुने चर्चा चले पनि यसबारे औपचारिक घोषणा हुन बाँकी नै थियो । यसैबीच, उनीहरूबीचको वार्ता भाँडिएको समाचार पनि सार्वजनिक भएको थियो ।
यता, उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङ र किराती समूहबीच एकताको प्रयोजनका लागि छलफल सुरु भएको खबर आएको छ । बुधबार घिसिङ र किरातीबीच करिब दुई घण्टा कुराकानी भएको र उनीहरूबीच मोर्चाबन्दी गर्दै एकतासम्म पुग्न सकिने समझदारी बनेको निकटस्थ नेताहरूले जनाएका छन् ।
यसअघि साम्पाङले किरातीलाई श्रम संस्कृति पार्टीमा भित्र्याउने सहमति गरिसकेका थिए । सोही अनुसार उनलाई आगामी चुनावमा कोशी प्रदेशको मुख्यमन्त्री बनाउने वचनसमेत दिएको चर्चा थियो । तर, पछिल्ला दिनमा साम्पाङले सामाजिक सञ्जालमार्फत उक्त दाबीको खण्डन गर्दै किरातीमाथि ‘मिडिया ट्रायल’ गरेको आरोप लगाएका थिए । सोही कारण उनीहरूबीच सम्बन्ध चिसिएको अनुमान गरिए पनि साम्पाङले अहिले त्यसको खण्डन गरेका छन् ।
.gif)

.png)

