कांग्रेसको विवाद अदालतबाट होइन, पार्टी कार्यालयमै बसेर समाधान गरौँ : विश्वप्रकाश शर्मा

‘अदालतबाट होइन, सानेपाबाटै कांग्रेसलाई एकतावद्ध बनाउनुपर्छ’


२०८३ भदौ ६ शनिबार १४:२७ बजे

काठमाडौं :  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको विवाद अदालतमा पुगेर नभई पार्टी कार्यालयमै बसेर संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने बताएका छन्। शनिबार नेपाली कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’ कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले पार्टीभित्रका मतभेदलाई संवादबाट समाधान गरी कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताएका हुन्।

कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जाका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले पार्टीका सबै नेताहरूलाई पनि बदलिँदो परिस्थितिअनुसार संवाद र सहकार्यमा जोड दिन आग्रह गरे। ‘नेपाली कांग्रेस पार्टी नयाँ ढंगले, नयाँ सोचले, नयाँ दृष्टिकोणले, नयाँ ऊर्जाले गइरहेको बेला हामी सबै आदरणीय नेताहरूलाई पनि आग्रह गरिरहेका छौँ,’ शर्माले भने।

पार्टीभित्रको विवाद समाधानका लागि कानुनी तथा संवैधानिक बाटो खुला रहे पनि त्यसले मात्र समस्याको समाधान नदिने उनको भनाइ छ। विवादलाई अदालतसम्म लैजानुभन्दा पार्टीभित्रै छलफल गरेर टुंगोमा पुग्नुपर्ने उनले बताए।

‘अब मुद्दा मामिलाको बाटो संविधानले, कानुनले दिन्छ। त्यसमा जाँदै गर्दा हामी त्यसमा नकारात्मक टिप्पणी गर्दैनौँ। तर अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर लिएर जानुछ,’ शर्माले भने। उनले कांग्रेसभित्र अहिले देखिएको विवादलाई लामो समयसम्म तन्काएर राख्न नहुने बताए। पार्टीका नेताहरूबीच संवादको वातावरण निर्माण गरेर सहमतिका आधारमा समस्या समाधान गर्नुपर्ने उनको जोड थियो।

उपसभापति शर्माले विशेष महाधिवेशनबाट आएको वर्तमान नेतृत्व पाँच वर्षका लागि निरन्तर रहने नेतृत्व नभएको पनि स्पष्ट पारे। आगामी असोजमा नियमित महाधिवेशन हुने भएकाले पार्टीको नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैका लागि ढोका खुला रहेको उनले बताए।

‘यो विशेष महाधिवेशनपछि पाँच वर्षलाई आएको नेतृत्व होइन। असोजको महिनामा महाधिवेशन हुँदै छ। कसले आएर सभापति बन्न चाहनुहुन्छ, को आएर उपसभापति, महामन्त्री बन्न चाहनुहुन्छ, सबैलाई ढोका खुला छ,’ उनले भने। उनले आगामी महाधिवेशनलाई पार्टीभित्रको नेतृत्व चयन र वैचारिक बहसको अवसरका रूपमा लिनुपर्ने बताए। नेतृत्वका आकांक्षीहरूले प्रतिस्पर्धा गर्न पाउने लोकतान्त्रिक अभ्यास कांग्रेसभित्र कायम रहेको उनको भनाइ थियो।

शर्माले पार्टीभित्रको विवादलाई व्यक्तिगत प्रतिष्ठा वा गुटगत प्रतिस्पर्धाको विषय नबनाई कांग्रेसको संगठन, विचार र भविष्यसँग जोडेर हेर्नुपर्नेमा जोड दिए। उनले संवाद, सहमति र सहकार्यबाट विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए। कांग्रेसभित्र फरक मत र असहमति स्वाभाविक भए पनि त्यसलाई पार्टी विभाजन वा दीर्घकालीन विवादको कारण बनाउन नहुने उनको धारणा थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७