रास्वपा सांसद आशिका तामाङको माग: नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गरियोस्


२०८३ जेठ १८ सोमबार १२:३४ बजे

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्‌मा नेपाल-भारत सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै पनि ठुलो हलचल पैदा गरिदिएको छ। रास्वपाकी प्रभावशाली सांसद आशिका तामाङले प्रधानमन्त्री शाहसँग नेपालले अतिक्रमण गरेको भनिएको भारतको भूमि र त्यसको सम्पूर्ण तथ्य-प्रमाण तुरुन्त सार्वजनिक गर्न माग गरेकी छिन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको’ भन्दै सनसनीखेज बयान दिएका थिए, जसको कडा प्रतिवाद गर्दै सांसद तामाङले यसबारे स्पष्ट पारिदिन माग गरेकी हुन्।

सांसद तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई तथ्य सार्वजनिक गर्न अपिल गर्दै आम नेपालीको भावना र इतिहासको विषय उठाएकी छिन्। उनले भनेकी छिन्, ‘प्रधानमन्त्री ज्युले नेपालले भारतको भूमि कहाँ कहाँ अतिक्रमण गरेको छ, त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु। किनकि सधैंभरि म लगायत हामी नेपालीहरूले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो, तर आजबाट हामीले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौं।’

प्रधानमन्त्रीले देशको कार्यकारी प्रमुखको हैसियतमा संसद् जस्तो गरिमामय र जिम्मेवार ठाउँमा उभिएर यति संवेदनशील विषय उठान गरिसकेपछि त्यसको पछाडि ठोस प्रमाण हुनैपर्ने आम नागरिक र जनप्रतिनिधिहरूको बुझाइ छ। सांसद तामाङले पनि प्रधानमन्त्री शाहले आफूले बोलेको यो गम्भीर कुरालाई हावा तालमा नभनेको र यसलाई प्रमाणसहित देशसामु पुष्टि गरेरै छाड्ने कुरामा आफू विश्वस्त रहेको उल्लेख गरेकी छिन्।

प्रधानमन्त्रीको बोलीलाई लिएर एकातिर विपक्षी दलहरू संसद् अवरोध र आन्दोलनको तयारीमा जुटिरहेका बेला, आफ्नै दलकी सांसदले सार्वजनिक रूपमै प्रमाण माग गरेपछि प्रधानमन्त्री बालेन शाह र रास्वपा नेतृत्वमाथि तथ्य बुझाउनुपर्ने नैतिक दबाब झनै चुलिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७