इजलासमा टिकटकर अधिकारीको बयान : हामी अघोषित पति-पत्नी हौं
पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौं : टिकटकर तुलसी अधिकारी (तुलसा कलेक्सन) लाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो।
अधिकारीविरुद्ध एक व्यवसायीलाई हनिट्रयापमा पारेर करोडौँ असुलेको आरोप छ । सोही आरोपमा उनलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको हो। अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोटलको सहयोगमा थाइल्यान्डमा पक्राउ गरेर ल्याएको थियो। नवलपरासी पश्चिम घर भई हाल ललितपुरको भैँसेपाटी बस्दै आएकी अधिकारीविरुद्ध यी तीन कसुरमा गत चैतमै मुद्दा दर्ता भएको थियो।
उनले एक व्यवसायीबाट ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ लिएको अभियोग लगाइएको छ। उनुसन्धानका क्रममा उनको आर्थिक कारोबार अस्वभाविक पाइएको भन्दै सम्पत्ति शुद्धीकरणको कसुरमा २१ करोड बढी बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो। इन्टरपोलबाट २०८२ चैत ३ गते रेड नोटिस जारी गराएको थियो। ती व्यवसायीले तुल्सीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएका थिए।
अदालतमा तुल्सीसहित ९ जना र एउटा पसललाई प्रतिवादी बनाइएको छ।
भारतका मुकेशकुमार धानुका, पोखराकी नेलिका लामिछाने, तेह्रथुमकी दिलुकुमारी लिम्बू, पाल्पाका प्रयास पोखरेल, सल्यानकी सपना वली, नवलपरासीकी गंगा अधिकारी सुवेदी, पाल्पाका मेघनाथ बस्याल र सिरहाका अशोककुमार अग्रवाल रहेका छन्। उनीहरुको तुल्सीले भनेअनुसार व्यापारीबाट रकम बुझेको आरोप छ।
आफूविरुद्ध दर्ता भएको मुद्दामा अदालतमा बयान दिँदै उनले आफूलाई मुद्दा हाल्ने व्यवसायीसँग अघोषित पति–पत्नीको रूपमा बसेको दाबी गरेकी थिइन्। उनले ती व्यवसायीलाई ब्ल्याकमेलिङ गरी ठूलो रकम लिएको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेकी छन्।
अदालतमा दिएको बयानअनुसार, अटोमोबाइल क्षेत्रमा काम गर्दा चिमोरिया थरका व्यवसायीसँग उनको चिनजान भएको थियो। ती व्यवसायीले आफ्नी श्रीमतीलाई क्यान्सर भएको भन्दै विवाहको आश्वासन दिएर आफूलाई काठमाडौं बोलाई कोठा खोजेर राखेको अधिकारीले उल्लेख गरेकी छन्।
अधिकारीले आफ्नो सम्पूर्ण सम्पत्तिको स्रोत ‘तुलसा कलेक्सन’ रहेको र चीनमा समेत व्यापार गर्न ‘तुलसा कलेक्सन एक्सपोर्ट इम्पोर्ट’ नामक कम्पनी सञ्चालन गरिरहेको दाबी गरेकी छन्। उनीमाथि लागेको सम्पत्ति शुद्धीकरणको आरोप झूटो भएको उनको भनाइ छ।
आफ्नो कम्पनीको कारोबार बढेको कुरा थाहा नपाएर नदेखाएको हुनाले घाटामा देखिएको तर राज्यलाई अपुग कर रकम तिर्न आफू तयार रहेको उनले अदालतमा बताएकी छन्। साथै, व्यवसायीले छोरीको फी बुझाउन रकम दिएको, पसल उनले आफैँ फिर्ता लिएको र स्कुटर तथा सुनका गरगहना आफूले आफ्नै कमाइबाट खरिद गरेको अधिकारीले जिकिर गरेकी छन्।
.gif)

.png)

