लाहुरेहरूको वीरताको कथा धेरैले सुने, विभेदका यी कथा कसैले सुनेनन् : पुरञ्जन मुकारुङ (पोडकाष्ट)
नेपाली युवाहरूले बेलायती सेनामा प्रवेश गरी सैन्य सेवा गर्न थालेको इतिहासले २ सय १० वर्ष पूरा गरिसकेको छ। सन् १८१६ मा नेपाल–इस्ट इन्डिया कम्पनी युद्धपछि युद्धबन्दी बनाइएका नेपाली सैनिकहरूलाई एकीकृत गर्दै करिब ३ हजार सैनिकको संख्यामा ‘सिरमौर बटालियन’ स्थापना गरियो। यहीँबाट सुरु भयो—गोर्खा भर्तीको इतिहास। गोर्खा भर्ती अर्थात् लाहुर। लाहुर जानेहरूलाई भनिन्छ, लाहुरे। लाहुर इतिहासमा कहिले रहर बन्यो, कहिले बाध्यता।
२ सय १० वर्षको यो यात्रामा गोर्खा सैनिकहरू बेलायती सेनाका लगभग सबै प्रमुख सैन्य अभियान र युद्धमा सहभागी भए। विश्वका विभिन्न भूभागमा भएका युद्धदेखि शान्ति स्थापनाका अभियानसम्म गोर्खाहरूले आफ्नो साहस, अनुशासन र वीरताको परिचय दिए। विश्वका करिब ४२ देशमा भएका युद्धमा सहभागी गोर्खाहरूले बेलायतका सर्वोच्च सैनिक सम्मानमध्ये एक १३ वटा भिक्टोरिया क्रस, दुई वटा जर्ज क्रससहित ७ हजारभन्दा बढी ठूला सैन्य पदक प्राप्त गरेका छन्।
यो गोर्खाहरूको वीरता, बहादुरी र इमानदारिताको कथा हो—जुन कथा संसारले पढेको छ, देखेको छ र सम्मान गरेको छ। तर २ सय १० वर्ष लामो गोर्खा इतिहासको अर्को पाटो पनि छ। यो इतिहास केवल वीरता र विजयको कथा मात्र होइन, यसभित्र विभेद, असमानता, अपमान र अधिकारका लागि भएका संघर्षका थुप्रै कथाकथित (कथित) कथाहरू पनि छन्।
हजारौं गोर्खाहरूले आफ्नो युवा अवस्था बेलायती सेनामा समर्पण गरे। युद्धभूमिमा साहसको इतिहास लेखे। तर धेरैले अवकाशपछि जीवनको उत्तरार्धमा अभाव, असमानता र अधिकारका लागि संघर्ष गर्नुपर्यो।
‘नभनिएका कथाहरू’ को यो अंकमा हामी त्यही कम सुनिएको इतिहासको पाना पल्टाउँदैछौं। यो युद्धभूमिको विजयको कथा होइन, पल्टनभित्र उठेको विद्रोहको कथा हो। यो केवल बहादुरीको कथा होइन, आत्मसम्मानका लागि गरिएको संघर्षको कथा हो। आज हामी सुन्दैछौं—गोर्खा भर्ती इतिहासका दुई चर्चित सैनिक विद्रोहका कथा। पहिलो, हङकङ गोर्खा क्याम्पको ‘जिन्स काण्ड’ र दोस्रो, ब्रुनाई गोर्खा राइफल्स (जीआरयू) विद्रोहको कथा।
यी दुवै विद्रोहका प्रमुख नेतृत्वकर्ता थिए, पुरञ्जन मुकारुङ। उनले बेलायती सेनाको पल्टनभित्र भएका यी दुई विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गरे। देश फर्किएपछि गोर्खा आन्दोलनसँग जोडिए, जो गोर्खा आन्दोलनका एकजना अगुवा हुन्। उनी अहिले गोर्खा समुदायलाई आर्थिक र सामाजिक अभियानमा जोड्ने प्रयासमा सक्रिय छन् र गोर्खा ग्रुपका अध्यक्ष छन्। कुनै दिन गोर्खा ग्रुपलाई प्रतिष्ठित व्यापारिक ग्रुप बनाउने सपना बोकेर सक्रिय छन् उनी। यो अंकमा गोर्खाहरूले गरेको सैनिक विद्रोहको कथा सुनौं :
.gif)

.png)

