निर्मला पन्तबारे प्रश्न गर्ने सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा किन गर्नुभएन ?
भने- म यसको उत्तर दिन चाहदिनँ
काठमाडौं : राष्ट्रिय सभामा बिहीबार भएको मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणबारे उठेको प्रश्नको प्रत्यक्ष जवाफ दिनुको सट्टा प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गरेका छन्। अन्ततः पूरक प्रश्नपछि उनले ‘म यसको उत्तर दिन चाहन्नँ’ भन्दै जवाफ दिन अस्वीकार गरे।
प्रश्नोत्तर कार्यक्रमको सुरुवातमै नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा दोषी पत्ता लगाएर न्याय दिलाउन नसक्नुको कारण र पीडितले कहिलेसम्म न्याय पाउने भन्ने प्रश्न गरेका थिए।
जवाफमा गृहमन्त्री गुरुङले देशमा हुने हत्या, हिंसा र बलात्कारलगायतका घटनाको अनुसन्धान निरन्तर भइरहेको बताए। त्यसपछि उनले प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गर्दै भने, ‘माननीयज्यूले उठाउनुभएको विषय एकदमै संवेदनशील छ। यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको ?’
उनले निर्मला पन्तको घटनालाई बारम्बार संसद्मा उठाउँदा पीडित परिवारको घाउ बल्झिने तर्क गरे। ‘हामीले एउटी आमाको घाउ कोट्याइरहने हो कि अनुसन्धान गरेर न्याय दिने हो? दिनहुँ यस्तो घटना सम्झाइरहँदा उहाँहरूको मनमा शान्ति हुन्छ त ?’ उनले भने।
गुरुङले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको भन्दै अनुसन्धानका विषयमा धेरै कुरा सार्वजनिक रूपमा बोल्न उपयुक्त नहुने बताए। साथै, उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा यो विषय दोहोर्याएर नउठाउन सांसदहरूसँग आग्रह गरे। ‘यो प्रश्न अब प्रतिनिधिसभा र राष्ट्रिय सभामा नउठाइदिनुहोस्। केही जान्नुपर्ने भए व्यक्तिगत रूपमा मलाई सोध्नुस्। उत्तर मसँग छ,’ उनले भने।
यसपछि सभाध्यक्ष नारायणप्रसाद दाहालले सांसद विश्वकर्मालाई पूरक प्रश्नका लागि समय दिएका थिए। विश्वकर्माले प्रश्न सोध्नु सांसदको विधायिकी अधिकार भएको उल्लेख गर्दै मन्त्रीले जवाफ दिनु संसदीय प्रणालीको दायित्व भएको बताए।
उनले सरकार गठन भएको सवा चार महिना बितिसक्दा पनि अनुसन्धान निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै पुनः प्रश्न गरे, ‘अबको कति महिना वा कति दिनभित्र हाम्रो चेली निर्मलाले न्याय पाउँछिन्?’
त्यसपछि गृहमन्त्री गुरुङले छोटो जवाफ दिँदै भने, ‘म यसको उत्तर दिन चाहन्नँ।’
.gif)

.png)

