रविको सर्वदलीय निम्तोमा नेकपाबाट माधव नेपाल र वर्षमान
प्रचण्ड अस्वस्थ
काठमाडौं : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज (सोमबार) बिहान ९ बजे सर्वदलीय बैठक बस्दै छ । सिंहदरबारस्थित संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बस्ने बैठकमा संसद् अवरुद्धलगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
रास्वपा सभापति लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी यही जेठ २२ गते स्वदेश फर्किएलगत्तै राजनीतिक गतिरोध अन्त्यका लागि यो बैठक आह्वान गरेका हुन् । बैठकमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई/दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' अस्वस्थ भएका कारण उक्त बैठकमा सहभागी नहुने भएका छन् ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार प्रचण्ड बिरामी परेकाले अझै केही दिन आराम गर्नेछन् । उनको अनुपस्थितिमा नेकपाका तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनले बैठकमा प्रतिनिधित्व गर्ने तय भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले 'नेपालले पनि भारतको जग्गा मिचेको' भनी दिएको अभिव्यक्तिका कारण केही दिनदेखि विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध गर्दै आएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राख्दै आएका छन् ।
आजै प्रतिनिधिसभाको बैठक बस्ने तयारीमा रहेको र विपक्षीले माग पूरा नभए संसद् चल्न नदिने अडान कायमै राखेकाले, यसै गतिरोधलाई फुकाउन लामिछानेले सर्वदलीय छलफल चलाएका हुन् । यसैबीच, राष्ट्रियसभाको बैठक भने आगामी जेठ २६ गतेका लागि बोलाइएको छ ।
.gif)

.png)

