काठमाडौंका ५ स्थानबाट आज ग्यास बिक्री हुँदै
कहाँ–कहाँ पाइन्छ ?
काठमाडौं : नेपाल आयल निगमले काठमाडौं उपत्यकामा आज पाँच स्थानबाट विभिन्न ब्रान्डका एलपी ग्यास सिलिन्डर बिक्री तथा वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका बिक्री केन्द्रबाट उपभोक्तालाई विभिन्न कम्पनीका ग्यास सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ।
अत्यावश्यक परेका उपभोक्ताले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा पुगेर ग्यास खरिद गर्न सक्नेछन्। ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्ने निगमले जनाएको छ। निगमका अनुसार टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास बिक्री गरिनेछ।
त्यस्तै, यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी ग्यास उपलब्ध हुनेछ। राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास बिक्री गरिने निगमले जनाएको छ।
त्यसैगरी, राधास्वामी, बसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास उपलब्ध हुनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिनेछ।
कहाँ–कहाँ पाइन्छ ग्यास ?
- नेपाल आयल निगम, टेकु: नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल
- यातायात कार्यालय परिसर, चाबहिल: नेपाल र एचपी
- राधास्वामी, कीर्तिपुर परिसर: नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम
- राधास्वामी, बसुन्धरा परिसर: नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम
- पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल: नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र ग्यास उद्योगहरूले आफ्ना आधिकारिक विक्रेतामार्फत पनि नियमित बिक्री गरिरहेको स्पष्ट पारेको छ। ग्यासको माग बढेका कारण कतिपय स्थानमा उपभोक्ताको भीड र लामो लाइन देखिएपछि निगमले आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।
निगमले उपभोक्ताहरूलाई अनावश्यक रूपमा बिक्री केन्द्रमा लाइन नबस्न तथा आफ्नो वास्तविक आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। निगमले ग्यास आपूर्ति व्यवस्थालाई सहज बनाउन सम्बन्धित निकाय तथा ग्यास उद्योगसँग समन्वय भइरहेको जनाएको छ।
.gif)

.png)

