इन्स्पेक्टरहरूलाई आईजीपीको निर्देशन: नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्नु
काठमाडौँ : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नवसरुवा भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई नागरिक केन्द्रित सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक विशेष समारोहमा सरुवा भई कार्यक्षेत्रमा खटिन लागेका इन्स्पेक्टरहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
महानिरीक्षक कार्कीले आम नागरिकसँग प्रत्यक्ष जोडिने प्रहरी कर्मचारीहरूले आफ्नो बोली, वचन र व्यवहारमा सकारात्मक सुधार ल्याउनु पर्नेमा जोड दिए। उनले कार्यक्षेत्रमा पूर्ण अनुशासित र कर्तव्यनिष्ठ भएर उच्च व्यावसायिकता प्रदर्शन गर्दै आफूलाई प्राप्त जिम्मेवारी सफलतापूर्वक वहन गर्न निर्देशन दिए।
शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन कार्यक्षेत्रमा देखा पर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म विश्लेषण गर्नुपर्ने बताउँदै आईजीपी कार्कीले सोही अनुरूपको सुरक्षा योजना अवलम्बन गर्न कमाण्डरहरूलाई सचेत गराए। उनले नेपालको संविधान, ऐन र कानुनले निर्दिष्ट गरेको जिम्मेवारीलाई आत्मसात गर्दै पूर्ण निष्ठाका साथ राष्ट्र र नागरिकको सेवामा समर्पित हुन आग्रह गरे।
"प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थभन्दा सांगठनिक स्वार्थलाई सदैव केन्द्रविन्दुमा राख्नुपर्छ," सम्बोधनका क्रममा महानिरीक्षक कार्कीले भने, "संगठनको नीति र निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै समग्र नेपाल प्रहरीको साख र प्रतिष्ठा वृद्धि हुने गरी उत्कृष्ट कार्यसम्पादन गरेर देखाउनुस्।"
.gif)

.png)

