आन्तरिक लोकतन्त्र कुण्ठित भए दुर्घटना निम्तिन्छ, यसको मूल्य देशले चुकाउनुपर्छ: रवि लामिछाने
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई कुनै पनि हालतमा कुण्ठित हुन नदिने दृढता व्यक्त गरेका छन्। पार्टीको पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासमाथि हुने हस्तक्षेपले गम्भीर दुर्घटना निम्त्याउने चेतावनी दिएका हुन्।
'पार्टीका साथीहरूको अधिकार कुण्ठित गरियो भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउँछ,' सभापति लामिछानेले भने, 'एउटा घर वा समाजमा हुने दुर्घटनाभन्दा एउटा राजनीतिक पार्टीमा हुने दुर्घटनाको मूल्य देशले निकै ठूलो चुकाउनुपर्छ।'
आफू पार्टीभित्रको निष्ठा र आन्तरिक लोकतन्त्रको विषयमा कहिल्यै पनि सम्झौता नगर्ने स्पष्ट पार्दै उनले यसमा आफू सधैं खरो उत्रने प्रतिबद्धता जनाएका छन्। महाधिवेशनको संघारमा रहँदा पार्टीलाई थप सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले प्रतिनिधिहरूलाई स्वस्थ प्रतिस्पर्धाका लागि अपिल गरेका छन्।
'पार्टी आज जुन उचाइमा आइपुगेको छ, यो यहाँहरूको विश्वास र मेहनतको उपज हो,' उनले भने, 'अब यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। स्वस्थ प्रतिस्पर्धाबाटै हामी पार्टीलाई अर्को नयाँ उचाइमा पुर्याउनेछौं।'
विभिन्न राजनीतिक घटनाक्रम र चुनौतीका कारण केही समय पर धकेलिएको महाधिवेशन अन्ततः औपचारिक रूपमा सुरु हुन लागेको भन्दै उनले यसलाई पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने अवसरका रूपमा लिन सबैलाई आग्रह गरे।
सभापति लामिछानेले आफूले अतिरिक्त अधिकार प्रयोग गर्ने अभ्यास नगरेको पनि बताए । विधान संशोधन हुँदा पदाधिकारीको संख्या बढाइएको र मनोनीतको संख्या पनि धेरै राखिएकोमा सभापति लामिछानेले विशेष परिस्थितिको रुपमा बुझ्न आग्रह गरे । ‘सभापतिलाई अतिरिक्त अधिकार लिएको हो कि भन्ने प्रश्न पनि उठेको छ । यो विशेष परिस्थिति हो । मनोनीतको संख्या धेरै भएको हो कि पदाधिकारीको संख्या पनि प्रश्न उठेको छ । मलाई अतिरिक्त अधिकारको अभ्यास गर्ने परिपाटीलाई प्रशय दिइनँ जस्तो लाग्छ,’ उनले भनेका छन् ।
महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने सभापति लामिछानेले सुनाए । आफ्नो कार्यकाल अत्यन्त सुन्दर र ऐतिहासिक रहेको उनको भनाइ छ । ‘मुलुक र स्थायीत्वका लागि मुलुकलाई निकास दिनका लागि हामी एक ठाउँमा उभिएका छौं । परिणाम दिन सकिएन भने यसको कुनै अर्थ हुँदैन,’ लामिछानेले भनेका छन् ।
.gif)

.png)

