‘बालेनलाई चुनावमा गाडी दिने मालपानी र चुन्नुको बयानका आधारमा एमाले उपाध्यक्ष पौडेल पक्राउ’
वरिष्ठ अधिवक्ता रमेश बडालको प्रश्न : ८ करोडको गाडी चढ्ने बालेनमाथि किन अनुसन्धान भएन ?
काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई रूपन्देहीका स्थापित व्यवसायीहरू कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माको बयानका आधारमा सम्पत्ति शुद्धीकरणको आरोप लगाउँदै पक्राउ गरिएको खुलेको छ।
म्याद थपका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा पेस गरेको दाबी पत्रमा यो विवरण उल्लेख भएपछि पौडेल पक्षका कानुन व्यवसायीहरूले अदालतमा यसको कडा प्रतिवाद गरेका छन्।
विशेष अदालतको इजलासमा उपन्यायाधिवक्ता भीमसेन काफ्लेले गराएको जानकारीअनुसार, श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषयमा अनुसन्धान गर्न पौडेललाई पक्राउ गरिएको हो।
उक्त हिमालयन एसेस्टमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत सेयर लगानी रहेको अदालतमा पेस गरिएको विवरणपत्रमा जनाइएको छ। यसअघि दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्दा विभागले हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिको बारेमा उल्लेख गरेको थियो।
बयान दिने व्यवसायीद्वय मालपानी र चुन्नु शर्मा पौडेलका व्यावसायिक साझेदार हुन्। उनीहरू खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्यमी तथा 'करेन्ट' चाउचाउका मालिक समेत हुन्। उनीहरूले श्रीराम टोबाकोको सेयर सस्तो मूल्यमा दीपक भट्टलाई बिक्री गर्न विष्णु पौडेलले सहजीकरण गरिदिएको बयान दिएका छन्। सरकारले उनीहरूलाई पक्राउ नगरी 'सरकारी साक्षी' बनाएर पौडेलमाथि मात्रै मुद्दा चलाउन खोजेको भन्दै रक्षापक्षका वकिलहरूले आपत्ति जनाएका हुन्।
बयान दिनेमध्येका चुन्नु शर्मा गत निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट विष्णु पौडेलसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार हुन्। त्यस्तै, अर्का व्यवसायी मालपानीको ८ करोड रुपैयाँ मूल्य बराबरको गाडी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी प्रचारका सिलसिलामा प्रयोग गरेको दाबी पौडेल पक्षले गरेको छ।
वरिष्ठ अधिवक्ता रमेश बडालको प्रश्न : ८ करोडको गाडी चढ्ने बालेनमाथि किन अनुसन्धान भएन ?
पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमेश बडाल, केदार कोइराला र शान्तिराम खतिवडालगायतले विशेष अदालतमा बहस गर्दै यो गिरफ्तारी विशुद्ध राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको जिकिर गरे। उनीहरूले मुख्य आरोपी वा बयान दिने व्यक्तिहरूलाई छोडेर केवल नाम उच्चारण भएकै भरमा पूर्वअर्थमन्त्री जस्तो विशिष्ट व्यक्तिलाई जरुरी पक्राउ पुर्जी दिएर रातारात समातिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए।
बहसका क्रममा वरिष्ठ अधिवक्ता बडालले निष्पक्ष अनुसन्धानको माग गर्दै मालपानीको गाडी चढ्ने प्रधानमन्त्री बालेनमाथि पनि अनुसन्धान तेर्सिनुपर्ने माग गरे। ‘मालपानीको कुराबाट समाउने हो भने गाडी कसले प्रयोग गर्यो, त्यो व्यक्तिलाई समाउनुपर्छ नि त। जसले मालपानीको आठ-आठ करोडको गाडी प्रयोग गर्छ, त्यसको बारेमा चाहिँ कहीँ अनुसन्धान भयो?,’ बडालले प्रश्न गरे, ‘अनि मालपानीले मेरो कम्पनीको सेयर फलानो कम्पनीले किन्यो भन्दा विष्णु पौडेल कसरी दोषी हुन्छन्? यसले केवल निश्चित राजनीतिक दलका नेताहरूलाई सिध्याउने तानाशाही प्रवृत्ति मात्र छर्लङ्ग पार्छ।’
सेयर बिक्रीमा सहजीकरण गरेको प्रमाण खोई?
पौडेल पक्षका वकिलहरूले विष्णु पौडेलले सेयर बिक्रीमा सहजीकरण गरेको भन्ने दाबीलाई पुष्टि गर्ने कुनै पनि एसएमएस, फोन रेकर्ड वा मन्त्रालयको लिखित निर्देशनजस्ता वस्तुगत प्रमाण सरकारले पेस गर्न नसकेको बताए। सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर विषयमा यति हचुवा र प्रमाणविहीन तरिकाले मुद्दा ल्याएर नागरिकको स्वतन्त्रता खोस्ने र सार्वजनिक पदका लागि अयोग्य बनाउने खेल रचिएको उनीहरूको आरोप छ।
पौडेलले प्रमाण नष्ट गर्ने वा भाग्ने कुनै अवस्था नरहेको र विगत ९० दिनदेखि दीपक भट्टको मुद्दा चल्दा पनि कतै हस्तक्षेप नगरेको प्रष्ट पार्दै रक्षापक्षले तत्काल म्याद थप नगर्न र थुनामुक्त गरेर अनुसन्धानमा सहयोग गर्ने वातावरण मिलाउन अदालतसँग माग गरेको छ।
.gif)

.png)

