क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक कीर्तिमान: लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी
काठमाडौं : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। उनी लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' मा उज्वेकिस्तानविरुद्धको खेलमा छैटौँ मिनेटमा गोल गर्दै ४१ वर्षीय रोनाल्डोले उक्त उपलब्धि हासिल गरेका हुन्। सन् २००६ मा विश्वकपमा डेब्यु गरेयता उनले सन् २०१०, २०१४, २०१८, २०२२ र २०२६ सम्मका सबै ६ संस्करणमा गोल गर्दै आफ्नो नाममा यो दुर्लभ कीर्तिमान लेखाएका छन्।
समूहको पहिलो खेलमा डीआर कंगोविरुद्ध गोल गर्न चुकेका रोनाल्डोले उज्वेकिस्तानविरुद्ध भने खेलको सुरुमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनको विश्वकप यात्राको गोल विवरण यस प्रकार छ:
-
२००६: १ गोल
-
२०१०: १ गोल
-
२०१४: १ गोल
-
२०१८: ४ गोल (स्पेनविरुद्ध ह्याट्रिकसहित)
-
२०२२: १ गोल
-
२०२६: १ गोल (जारी)
यसका साथै, रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी (ओल्डेस्ट स्कोरर) समेत बनेका छन्। ४१ वर्ष १३८ दिनको उमेरमा गोल गर्दै उनले यो स्थान हासिल गरेका हुन्। विश्वकप इतिहासमा सबैभन्दा बढी उमेरमा गोल गर्ने कीर्तिमान क्यामरुनका रोजर मिल्लाको नाममा छ, जसले सन् १९९४ को विश्वकपमा ४२ वर्ष ३९ दिनको उमेरमा रसियाविरुद्ध गोल गरेका थिए।
.gif)

.png)



