शेख हसिना घोषणा: मृत्युसँग डराउँदिनँ, छिट्टै बङ्गलादेश फर्किन्छुु
\'म मृत्युसँग डराउँदिनँ। मेरो विरुद्ध धेरै षड्यन्त्र रचिएका छन्, तर ती सबै बाधा पार गर्दै म यो वर्ष आफ्नो देश फर्किनेछु\'
ढाका : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्किने प्रतिबद्धता व्यक्त गरेकी छिन्। विद्यार्थी नेतृत्वको जनविद्रोहपछि भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले भारतीय ब्रोडकास्टर एनडिटिभी सँगको अन्तर्वार्तामा यस्तो घोषणा गरेकी हुन्।
सन् २०२४ को अगस्टमा भएको व्यापक जनआन्दोलनपछि १५ वर्ष लामो शासन अन्त्य गर्दै हसिना भारत पलायन भएकी थिइन्। आफ्नो विरुद्ध सुनाइएको मृत्युदण्डको फैसलालाई 'अवैध, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित' भन्दै उनले भनिन्, 'म मृत्युसँग डराउँदिनँ। मेरो विरुद्ध धेरै षड्यन्त्र रचिएका छन्, तर ती सबै बाधा पार गर्दै म यो वर्ष आफ्नो देश फर्किनेछु।'
गत नोभेम्बरमा ढाकाको एक अदालतले हसिनालाई उत्तेजना फैलाएको, हत्याको आदेश दिएको र अत्याचार रोक्न नसकेको अभियोगमा दोषी ठहर गर्दै अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। उनको नेतृत्वमा रहेको अवामी लिग दलमाथि पनि अहिले बङ्गलादेशमा राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ।
हसिना भारत पलायन भएपछि बङ्गलादेशमा बनेको अन्तरिम सरकार र भारतबीच सुपुर्दगीको विषयलाई लिएर सम्बन्धमा निकै तिक्तता आएको थियो। यद्यपि, फेब्रुअरीमा तारिक रहमान प्रधानमन्त्रीमा निर्वाचित भएपछि दुई देशबीचको सम्बन्धमा केही सुधार देखिएको छ। तर, नयाँ सरकारले पनि हसिनाको सुपुर्दगीको मागलाई निरन्तरता दिइरहेको छ। भारतमा निर्वासनमा रहेपछि निकै कम सार्वजनिक भएकी हसिनाको यो पछिल्लो अभिव्यक्तिले बङ्गलादेशको राजनीतिमा पुनः तरङ्ग पैदा गरिदिएको छ।
.gif)

.png)

