पाल्पाबाट छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात
तानसेन । चालु आर्थिक वर्षमा पाल्पाबाट छ वर्षयताकै सबैभन्दा धेरै तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निर्यात भएको छ। दालचिनीसँगै तेजपातको निर्यात पनि उल्लेखनीय रूपमा बढ्दै १२ लाख ८८ हजार ४८२ किलो पुगेको छ।
चालु आर्थिक वर्षमा पाल्पाबाट छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय, पाल्पाका अनुसार यस आर्थिक वर्षमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको हो, जुन गत आर्थिक वर्षको एक लाख २१ हजार १० किलोको तुलनामा झण्डै तीन गुणाले बढी हो।
कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार यही अवधिमा १२ लाख ८८ हजार ४८२ किलो तेजपात पनि भारत निर्यात भएको छ। गत वर्ष आठ लाख ८१ हजार ७३१ किलो तेजपात निकासी भएको थियो।
कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ७६ हजार ६९७ किलो, २०७९/८० मा एक लाख ८३ हजार ५९० किलो, २०७८/७९ मा एक लाख ९० हजार २१४ किलो र २०७७/७८ मा एक लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको थियो।
पाल्पामा उत्पादन हुने दालचिनी र तेजपातको प्रमुख बजार भारत रहेको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए। उनका अनुसार किसानले तेजपात प्रतिकिलो ५०–६० रुपैयाँ र दालचिनी प्रतिकिलो करिब १०० रुपैयाँमा बिक्री गर्दै आएका छन्।
उनले दालचिनी र तेजपातको उत्पादन तथा बजार विस्तारलाई निरन्तरता दिन सकिए स्थानीय कृषकको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।
.gif)

.png)

