नेपाल-बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
लन्डन। नेपाल र बेलायतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले लन्डनस्थित नेपाली राजदूतावासको आयोजनामा नेपाल–बेलायत इकोनोमिक पार्टनरसिप फोरम २०२६ सम्पन्न भएको छ। फोरमका क्रममा वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ (सीएनआई) तथा नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री बीच दुई महत्त्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौताले दुई देशका निजी क्षेत्रबीच संस्थागत सहकार्य विस्तार गर्दै व्यापार, लगानी, प्रविधि हस्तान्तरण तथा दीर्घकालीन आर्थिक साझेदारीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
फोरममा परराष्ट्रमन्त्री डा। शिशिर खनालले नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न, पर्यटन प्रवर्द्धन गर्न तथा जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि, पूर्वाधार, सूचना प्रविधि र डिजिटल सेवाजस्ता क्षेत्रमा बेलायती लगानीलाई स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपाल सूचना प्रविधि र डिजिटल अर्थतन्त्रमा विश्वसनीय साझेदार बन्न सक्ने बताए भने बेलायती सांसद एलेक्स बेकरले नेपाललाई विकास सहायता प्राप्त गर्ने मुलुक मात्र नभई समान स्तरको आर्थिक साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखिन्।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्य र ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्टले बेलायतस्थित नेपाली समुदायलाई नेपालका पूर्वाधार, जलविद्युत्, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आह्वान गरेका थिए।
१५० भन्दा बढी सहभागी रहेको फोरममा व्यापार विस्तार, लगानी सहजीकरण, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, आउटसोर्सिङ र प्रविधि हस्तान्तरणका विषयमा छलफल भएको थियो। सहभागीहरूले बजार पहुँच विस्तार, लगानी प्रक्रिया सरलीकरण र सरकार–निजी क्षेत्रबीच निरन्तर सहकार्यलाई जोड दिँदै यस पहलले नेपाल–बेलायत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
.gif)

.png)

