सुकुम्वासीको आँसुमाथि आफ्नै सरकारलाई रास्वपा सचेतक क्रान्तिशिखाको प्रश्न- ‘के अभिभावकीय राज्य यस्तै हुन्छ ?
सडकमा बगेको सुकुम्वासीको आँसु देखेर आफ्नै सरकारमाथि क्रान्तिशिखा आक्रोशित
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धिताल ले सुकुम्वासी व्यवस्थापनका क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
सुकुम्वासी बस्ती खाली गराउने क्रममा सडकमा देखिएको मानवीय संकट र विस्थापितहरूको पीडाप्रति प्रतिक्रिया जनाउँदै उनले आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।
सामाजिक सञ्जालमार्फत उनले सडकमा बगिरहेका सुकुम्वासीका आँसुले सबैलाई पोल्नुपर्ने उल्लेख गर्दै व्यवस्थापन आवश्यक भए पनि त्यसका लागि अपनाइएको प्रक्रिया र बल प्रयोग उचित नभएको टिप्पणी गरेकी छन्।
चुनावताका रास्वपाले गरेको प्रतिबद्धता स्मरण गराउँदै धितालले वर्तमान कार्यशैली पार्टीको वाचापत्रअनुसार भएको हो कि होइन भन्ने प्रश्न उठाएकी छन्। उनले लेखेकी छन्, “सुकुम्वासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्रअनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ?”
धितालले राज्यले नागरिकप्रति अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो हुन नसकेको टिप्पणी गर्दै पर्याप्त संवेदनशीलता, योजना र जिम्मेवारीबिना अघि बढाइएको कदमले समस्या समाधान गर्नुको सट्टा राज्यकै कमजोरी र असक्षमता उजागर गरेको बताएकी छन्।
उनले थपेकी छन्, “जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो।”
.gif)

.png)

