हिमाली जिल्ला कालीकोटमा बढ्दै लामखुट्टेजन्य रोगको जोखिम, १९ जनामा डेङ्गी र कालाजार पुष्टि
कालीकोट । विगतमा तराई र पहाडी जिल्लाहरूमा मात्र सीमित रहने लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरू अचेल हिमाली जिल्ला कालीकोटमा पनि तिब्र रूपमा देखिन थालेका छन्। पछिल्लो समय जिल्लाका विभिन्न स्थानीय तहमा डेङ्गी, औलो (मलेरिया) र कालाजारका बिरामीहरू फेला पर्न थालेका हुन्।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार आर्थिक वर्ष २०८२र८३ मा मात्रै जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने रोगका १९ जना बिरामी भेटिएका छन्। जसमा डेङ्गीका १० जना, कालाजारका ८ जना र औलोका १ जना बिरामी रहेका छन्।
जिल्लाका कुल ९ पालिकामध्ये ६ वटा पालिकामा यी बिरामी फेला परेका हुन्। खाँडाचक्र नगरपालिकामा डेङ्गीका ८, पलाँतामा १ र नरहरिनाथ गाउँपालिकामा १ जना बिरामी भेटिएका छन्। यस्तै, कालाजारका बिरामीहरू खाँडाचक्रमा २, पचालझरनामा २ तथा रास्कोट, शुभकालिका, पलाँता र नरहरिनाथ गाउँपालिकामा १र१ जना फेला परेका छन्। खाँडाचक्र–२ मा भेटिएका औलोका १ जना बिरामी भने बाहिरबाट आएका (आयातित) हुन्।
किन बढ्दैछ जोखिम ?
जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा पहिले चिसो मानिने हिमाली क्षेत्रमा पनि लामखुट्टे बाँच्न र प्रजनन गर्न सक्षम हुन थालेको स्वास्थ्य अधिकारीहरू बताउँछन्।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख रत्नवीर सुनारले भन्नुभयो, 'सडक निर्माण, बजार विस्तार तथा अव्यवस्थित बस्तीका कारण पानी जम्ने ठाउँहरू बढेका छन्, जसले गर्दा लामखुट्टे हुर्कन अनुकूल वातावरण बनेको छ। साथै तराईका जिल्लाहरूबाट मानिसहरूको आवतजावत बढ्नु पनि अर्को कारण हो।' उहाँका अनुसार विशेषगरी कर्णाली र तिला नदी किनार आसपासका तल्लो भेगहरूमा यस्ता बिरामी बढी देखिएका छन्।
लार्भा नष्ट गर्ने अभियान सुरु
हिमाली जिल्लामा लामखुट्टेजन्य रोग देखिन थालेपछि यसलाई महामारीको रूप लिन नदिन स्वास्थ्य कार्यालयले विशेष सतर्कता अपनाएको छ। स्वास्थ्य संस्थाहरूसँग समन्वय गरेर 'लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौँु अभियान सुरु गरिएको महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमले जानकारी दिए।
जोखिमयुक्त क्षेत्रमा घरभित्र र बाहिर पानी जम्ने ठाउँहरू सफा राख्न, खाल्डाहरू पुर्न र लामखुट्टेको टोकाइबाट बच्न अनिवार्य झुलको प्रयोग गर्न स्थानीयहरूलाई स्वास्थ्यकर्मीमार्फत सचेत गराउने कार्य भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
.gif)

.png)

