पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित


२०८३ असार २५ बिहीबार १७:२७ बजे

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा बिहीबार सुनुवाइका लागि पेसी तोकिएको भए पनि सरकारी वकिल कार्यालयको आग्रहमा सुनुवाइ स्थगित गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बराबरको अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै २०८२ जेठ १९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगका अनुसार सोडारीले २०७४ माघ ७ देखि २०७९ माघ १० सम्म सार्वजनिक पदमा रहँदा आफ्नो ओहदाको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका छन्।

अनुसन्धानबाट सो अवधिमा सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आम्दानी, श्रीमती तथा छोराछोरीको पारिश्रमिक र सामाजिक सुरक्षा भत्तासहित कुल ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा वैध आम्दानी देखिएको छ।

तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन, छोराको विवाह, सेयर लगानी, निर्वाचन खर्चलगायत शीर्षकमा १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको अख्तियारको दाबी छ।

कुल आम्दानी र खर्चको तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा को स्रोत खुल्न नसकेको आयोगको निष्कर्ष छ। सो रकम बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरिएको दाबी गर्दै आयोगले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा रहेको जग्गा, घर तथा बैंक मौज्दातसमेत जफत गर्न अदालतसँग माग गरेको छ।

यस मुद्दामा अब विशेष अदालतले अर्को पेसी तोकेपछि सुनुवाइ अघि बढ्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७