पेलेको १९५८ विश्वकपको जर्सी ४९ लाख डलरमा बिक्री: फुटबल इतिहासकै दोस्रो महँगो जर्सी


२०८३ श्रावण १ शुक्रबार १२:४० बजे

काठमाडाैं :  ब्राजिलियन फुटबलका महान खेलाडी पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी ४९ लाख डलर (करिब ७४ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ। न्युयोर्कमा आयोजित सोथबिज  लिलामीमा उक्त जर्सी खरिद गर्न पाँचभन्दा बढी बोलकबोलकर्ताहरूले १० पटकसम्म बोली लगाएका थिए। यो मूल्य पेलेका हालसम्म लिलामीमा बिक्री भएका वस्तुहरूमध्येकै सर्वाधिक हो।

सन् २००४ मा मात्र १ लाख ५ हजार ६ सय डलरमा बिक्री भएको यो जर्सीको मूल्य हाल आएर करिब ५० गुणा बढेको छ। फुटबल इतिहासमा बिक्री भएको यो दोस्रो सबैभन्दा महँगो जर्सी हो। यसअघि, सन् १९८६ को विश्वकपमा अर्जेन्टिनाका डिएगो म्याराडोनाले ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी सन् २०२२ मा ७१ लाख पाउण्डमा बिक्री भई पहिलो स्थानमा रहेको छ।

सोथबिजका खेलकुद रणनीति प्रमुख ब्रेन्डन हक्सले पेलेको यो जर्सी फुटबल इतिहासको एक महत्त्वपूर्ण क्षणको साक्षी मात्र नभई पेलेलाई विश्वव्यापी आइकन बनाउने यात्राको सुरुवात भएको बताएका छन्। १७ वर्षको उमेरमा स्वीडेनविरुद्ध दुई गोल गर्दै ब्राजिललाई पहिलोपटक विश्वविजेता बनाउने क्रममा पेलेले लगाएको उक्त जर्सीले अझै पनि विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमानलाई झल्काउँछ।

उक्त लिलामी कार्यक्रममा पेलेको जर्सीका अतिरिक्त अन्य चर्चित खेल सामग्रीहरूले पनि उच्च मूल्य पाएका छन्। सोही लिलामीमा सन् १९८६ को विश्वकपमा इङ्गल्याण्डविरुद्धको खेलमा म्याराडोनाले लगाएको क्याप्टेन आर्मब्यान्ड ५ लाख १२ हजार डलरमा बिक्री भएको छ भने सन् २०१७ मा बार्सिलोनाले पिएसजीविरुद्ध ६–१ को ऐतिहासिक जित निकाल्दा लियोनल मेसीले लगाएको जर्सी २ लाख १७ हजार ६ सय डलरमा लिलामी भएको छ। त्यस्तै, सन् २००२ को विश्वकपमा आफ्नो ५०औँ अन्तर्राष्ट्रिय खेल खेल्दा डेविड बेकह्यामले लगाएको जर्सी ५१ हजार २ सय डलरमा बिक्री भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७