हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेशमा ‘हिन्दु सम्राट सेना’को अवरोध


२०८३ श्रावण ५ मंगलबार १२:५० बजे

जनकपुरधाम: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको जनकपुरधाम भ्रमणअघि आइतबार जानकी मन्दिर परिसरमा तनाव उत्पन्न भएको छ। साम्पाङलाई स्वागत गर्न पुगेका उनका समर्थक र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच धकेलाधकेल भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले साम्पाङलाई मन्दिर प्रवेश गर्न रोकेको हो।

साम्पाङ पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका हुन्। उनी आज बिहान करिब ११ बजे समर्थकसहित जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम थियो। तर, उनी मन्दिर पुग्नुअघि नै मन्दिर परिसरमा दुवै पक्षबीच तनाव उत्पन्न भएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाले सम्भावित झडपको अवस्था देखिएपछि सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेश गर्न नदिएको जनाएको छ।

यसअघि हिन्दु सम्राट सेनाले साम्पाङले गाईको मासु खानुपर्ने सम्बन्धी दिएको अभिव्यक्तिको विरोध गर्दै उनलाई जनकपुरमा प्रवेश गर्न नदिने चेतावनी दिएको थियो। घटनापछि साम्पाङले फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘गाई कसले खाएको रैछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें। यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ? जय जानकी मन्दिर।’

अर्को स्टाटसमा उनले जनकपुरमा झडपको अवस्था सिर्जना भएको जानकारी गराउन खोज्दा गृहमन्त्रीको फोन बन्द रहेको दाबी गरेका छन्। धर्म र पुराना विषयलाई लिएर विवाद भएको उल्लेख गर्दै उनले आफ्ना सबै कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७