भोलिदेखि वैदेशिक रोजगार ठप्प पार्ने मेनपावर व्यवसायीको घोषणा


२०८३ श्रावण ३१ आइतबार १९:११ बजे

काठमाडौं :  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग सम्बोधन नभएको भन्दै सोमबारदेखि देशभरका वैदेशिक रोजगार व्यवसायीका कार्यालय बन्द गर्ने घोषणा गरेको छ । संघले सरकार र सम्बन्धित निकायबाट मागको सुनुवाइ नभएको भन्दै वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार रोक्ने निर्णय गरेको हो ।

संघका अनुसार यसअघि नै पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङको काम रोकिएको थियो । त्यसपछि जारी भइसकेको श्रम स्वीकृतिको हकमा समेत श्रमिकलाई विदेश पठाउन दिइएको समयसीमा समाप्त भइसकेकाले अब श्रमिकको उडानसमेत रोक्ने अवस्था आएको संघले जनाएको छ ।

संघका महासचिव हीराबहादुर डाँगीले विज्ञप्ति जारी गर्दै सोमबारदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएका छन् । उनका अनुसार व्यवसायीहरूले बाध्यात्मक अवस्थामा यस्तो निर्णय लिनुपरेको हो ।

संघले कार्यालय बन्द गर्ने निर्णयलाई सामान्य विरोध कार्यक्रमका रूपमा नलिई व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार तथा दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा व्याख्या गरेको छ । आफ्ना मागप्रति सरकार गम्भीर नभएपछि दबाब सिर्जना गर्न देशभरका व्यवसायीलाई सम्पूर्ण कारोबार बन्द गर्न आह्वान गरिएको संघले जनाएको छ ।

संघले सरकार तथा सम्बन्धित निकायसँग संवाद, समन्वय र वार्ताका लागि भने ढोका खुला राखेको जनाएको छ । व्यवसायीका माग सम्बोधन गरी त्यसको प्रभावकारी कार्यान्वयन नभएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने संघको अडान छ ।

वैदेशिक रोजगार व्यवसायीको यो निर्णयसँगै विदेश जाने तयारीमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति, भिसा प्रक्रियादेखि उडान व्यवस्थासम्म प्रभावित हुने देखिएको छ । विशेषगरी श्रम स्वीकृति प्राप्त गरेर विदेश जाने तयारीमा रहेका श्रमिकसमेत व्यवसायीको आन्दोलनका कारण प्रभावित हुने सम्भावना छ ।

संघले व्यवसायी र श्रमिक दुवैको हितलाई ध्यानमा राख्दै सरकार तत्काल वार्तामा आएर समस्या समाधान गर्नुपर्ने माग गरेको छ । लामो समयसम्म वैदेशिक रोजगारसम्बन्धी सेवा अवरुद्ध हुँदा व्यवसायीका साथै विदेश जाने तयारीमा रहेका हजारौँ श्रमिकसमेत प्रभावित हुन सक्ने भएकाले सरकारले तत्काल पहल गर्नुपर्ने संघको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७