पाटनमा मनाइयो पञ्चदान पर्व (फोटो फिचर)
पाटनमा पञ्चदानको रौनक, दानमार्फत पुण्य कमाउने धार्मिक विश्वास
ललितपुर : पाटनमा विशेष बौद्ध पर्वका रूपमा पञ्चदान मनाइएको छ। प्रत्येक वर्ष गुँला महिनाको श्रावण शुक्ल अष्टमीका दिन मनाइने यस पर्वमा भक्तजनहरूले बौद्ध भिक्षु तथा पुजारीहरूलाई धान, चामल, गहुँ, नुन, केराउ, फलफूल, खीर तथा दक्षिणालगायतका सामग्री दान गर्ने परम्परा छ। पञ्चदानका अवसरमा दानमार्फत पुण्य कमाउने तथा दीपंकर बुद्धप्रति श्रद्धा अर्पण गर्ने धार्मिक विश्वास रहेको छ। पर्वमा बौद्ध धर्मावलम्बीहरूको उल्लेख्य सहभागिता रहने गरेको छ।
के हो पञ्चदान ?
पञ्चदानलाई नेवार बौद्ध समुदायको महत्वपूर्ण दान पर्व मानिन्छ। पाटनमा यसलाई ‘यल पञ्चदान’ पनि भनिन्छ। ‘यल’ पाटनको नेपालभाषी नाम भएकाले पाटनमा मनाइने पञ्चदानलाई यल पञ्चदान भनिएको हो। यो पर्व गुँला महिनाको श्रावण शुक्ल अष्टमीका दिन पाटनमा विशेष रूपमा मनाइन्छ। पञ्चदानको सामान्य अर्थ पाँच प्रकारका वस्तु दान गर्नु भन्ने बुझिए पनि नेपालभाषाको ‘पञ्जरा’ शब्दसँग जोडेर यसलाई पुण्य दानका रूपमा पनि व्याख्या गरिन्छ। दानमार्फत पुण्य आर्जन गर्ने र लोभबाट मुक्त हुँदै समाजमा सहयोग तथा सहअस्तित्वको भावना विकास गर्ने यसको धार्मिक तथा सामाजिक सन्देश हो।

के–के गरिन्छ दान ?
परम्पराअनुसार धान, चामल, गहुँ, नुन, सानो केराउ, फलफूल, खीर, दक्षिणालगायतका खाद्य तथा आवश्यक सामग्री दान गर्ने चलन छ। स्थान र समुदायअनुसार दान गरिने वस्तुमा केही भिन्नता पनि पाइन्छ। पाटनमा शाक्य र वज्राचार्य कुलका व्यक्तिहरूले दान ग्रहण गर्ने परम्परा छ। दाताहरूले बहाः, बही, घरका दलान तथा चोकमा दान राख्ने र धार्मिक विधिअनुसार दान दिने गर्छन्।
दीपंकर बुद्धसँगको सम्बन्ध
पञ्चदान पर्वको मुख्य आकर्षणमध्ये दीपंकर बुद्धको पूजा र प्रदर्शन हो। पाटनका विभिन्न विहारमा रहेका दीपंकर बुद्धका मूर्तिलाई विशेष अवसरमा बाहिर निकालेर श्रद्धापूर्वक पूजा तथा दान गर्ने परम्परा छ। पाटनमा पाँच दीपंकर बुद्धका मूर्तिसँग जोडिएको परम्परा रहेको उल्लेख पाइन्छ। बौद्ध परम्परामा दीपंकर बुद्धलाई गौतम बुद्धको भविष्यबारे भविष्यवाणी गर्ने बुद्धका रूपमा पनि श्रद्धा गरिन्छ। यही कारण पञ्चदानमा दीपंकर बुद्धको विशेष पूजा हुने गर्छ।
यस्तो छ किंवदन्ती
पञ्चदानसँग जोडिएको एउटा प्रसिद्ध किंवदन्तीअनुसार, पाटनमा भिक्षाका लागि आएका दीपंकर बुद्धलाई तत्कालीन राजाले धेरै दान दिन खोज्दा उनले स्वीकार गरेनन्। तर लक्ष्मी थकु नामकी गरिब महिलाले श्रद्धापूर्वक दिएको दान भने दीपंकर बुद्धले स्वीकार गरेको भनाइ छ। त्यस घटनाबाट प्रभावित भएर राजाले आफ्नै श्रमबाट आर्जित धनबाट दान गरेपछि मात्र दीपंकर बुद्धले स्वीकार गरेको किंवदन्ती छ। त्यसैले आफ्नो श्रम र कमाइबाट प्राप्त वस्तु श्रद्धापूर्वक दान गर्नुको विशेष महत्व रहेको मानिन्छ।

नेपाल संवत् ५१२ देखि मनाउने विश्वास
पञ्चदान पर्व नेपाल संवत् ५१२ देखि मनाउन थालिएको किंवदन्ती पाइन्छ। पाटनमा श्रावण शुक्ल अष्टमीमा मनाइने भए पनि उपत्यकाका अन्य स्थानमा भने फरक तिथिमा मनाउने परम्परा छ। काठमाडौं, भक्तपुर, मध्यपुर थिमि, बनेपा, पनौती र कीर्तिपुरलगायतका स्थानमा पनि पञ्चदान मनाइन्छ। भक्तपुरको पञ्चदानमा भने पाँच महाविहारमा रहेका दीपंकर बुद्धका मूर्तिलाई नगर परिक्रमा गराउने र गुँला धाः बाजा बजाउने विशेष परम्परा रहेको छ।
हेर्नूहोस् तस्बीरहरूः










.gif)

.png)

