लगानी, व्यापार र प्रविधिमा सहकार्य गर्न एनआरएनए र नेपाल चेम्बरबीच एमओयू
काठमाडौं : विदेशमा रहेका नेपालीको पूँजी, सीप, प्रविधि र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्सबीच समझदारी भएको छ। नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले दुवै संस्थाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र नेपाल चेम्बरका अध्यक्ष कमलेश अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन सहजीकरण गर्ने, व्यापार तथा उद्योगको विस्तारमा सहकार्य गर्ने र स्वदेशी तथा गैरआवासीय नेपाली व्यवसायीबीच व्यावसायिक सञ्जाल विस्तार गरिनेछ।
त्यस्तै, संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा अन्य व्यावसायिक कार्यक्रम आयोजना गर्ने योजना छ। यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा साझेदारीको अवसर सिर्जना गर्ने दुवै संस्थाको लक्ष्य छ। समझदारीमा निर्यातमुखी उद्योग, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअप प्रवर्द्धन, ज्ञान तथा प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिका लागि तालिम तथा कार्यशाला सञ्चालन गर्ने विषयसमेत समेटिएको छ।
दुवै संस्थाले लगानी तथा व्यवसायका लागि आवश्यक नीतिगत सुधारका विषयमा सरकारसँग संयुक्त रूपमा पैरवी गर्ने भएका छन्। लगानीकर्ता र व्यवसायीलाई आवश्यक सूचना उपलब्ध गराउन आर्थिक तथा व्यापारसम्बन्धी तथ्यांक, बजार सूचना र अनुसन्धान सामग्री आदानप्रदान गर्ने सहमति पनि भएको छ।
नेपाल चेम्बरले स्वदेशी व्यवसायीको सहभागिताका लागि व्यावसायिक मञ्च उपलब्ध गराउने, सरकारी निकायसँग समन्वय तथा सहजीकरण गर्ने र नीतिगत संवादमा सहयोग गर्नेछ। एनआरएनएले भने विश्वभर रहेका गैरआवासीय नेपाली लगानीकर्ता, पेशाकर्मी र व्यवसायीलाई परिचालन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने जनाएको छ।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीसँग पूँजीसँगै सीप, प्रविधि, व्यवस्थापन क्षमता र अन्तर्राष्ट्रिय अनुभवसमेत रहेकाले त्यसलाई नेपालको विकाससँग जोड्नुपर्ने बताए। उनका अनुसार विश्वका करिब ११० देशमा फैलिएको नेपाली सञ्जाललाई लगानी, उत्पादन, उद्यमशीलता र विकाससँग जोड्न सके नेपालले ठूलो लाभ लिन सक्छ। कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, पूर्वाधार तथा उत्पादनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न सकिने उनले बताए।
शर्माले नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीले अझै कानुनी तथा प्रशासनिक जटिलता सामना गर्नुपरेको उल्लेख गर्दै लगानीको वातावरणलाई सरल, सुरक्षित र विश्वसनीय बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनले विदेशमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई समेत नेपालसँग जोड्ने कार्यक्रम अघि बढाउनुपर्ने बताए। युवा सम्मेलन, नेपाल भ्रमण, सांस्कृतिक कार्यक्रम तथा उद्यमशीलता र लगानीसम्बन्धी गतिविधिमार्फत दोस्रो पुस्तालाई नेपालसँग जोड्न सकिने उनको भनाइ छ।
नेपाल चेम्बरका अध्यक्ष कमलेश अग्रवालले पनि स्वदेशी तथा गैरआवासीय नेपालीको पूँजी, ज्ञान, सीप र विश्वव्यापी सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने बताए। उनले लगानी प्रवर्द्धनका लागि राम्रो नीति मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन, कानुनी स्पष्टता, लगानी सुरक्षा र स्थिर व्यावसायिक वातावरण आवश्यक रहेको बताए। ‘आजको समझदारीपत्र कागजमा मात्र सीमित हुनु हुँदैन,’ अग्रवालले भने, ‘यसलाई व्यवहारमा उतार्दै लगानी, व्यापार, रोजगारी र आर्थिक रूपान्तरणका क्षेत्रमा ठोस परिणाम दिनुपर्छ।’ उनले सूचना प्रविधि, पर्यटन, उत्पादनमूलक उद्योग तथा निर्यातका क्षेत्रमा गैरआवासीय नेपालीको विश्वव्यापी सञ्जाल प्रयोग गर्न सकिने बताए।
नेपाल चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन कानुनी तथा प्रक्रियागत अवरोध हटाउनुपर्ने बताए। विदेशमा रहेका नेपालीको पूँजी, ज्ञान, सीप र अनुभव नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुने भएकाले लगानीमैत्री नीति आवश्यक रहेको उनको भनाइ छ। एमओयू पाँच वर्षसम्म कायम रहनेछ। दुवै पक्षको सहमतिमा यसलाई नवीकरण गर्न सकिनेछ। आवश्यकताअनुसार लिखित सहमतिबाट संशोधन गर्न सकिने तथा विवाद उत्पन्न भए आपसी छलफलबाट समाधान गर्ने व्यवस्था समझदारीमा गरिएको छ।
दुवै संस्थाबीचको सहकार्यले गैरआवासीय नेपालीको पूँजी, प्रविधि र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल नेपाल भित्र्याउन तथा स्वदेशी व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न आधार तयार हुने अपेक्षा गरिएको छ।
.gif)

.png)

