बाढीपीडितका लागि एनआरएनएले ५ करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ। बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै संघले राहत अभियानलाई व्यवस्थित बनाउन विभिन्न संयन्त्रसमेत परिचालन गर्ने जनाएको छ।
संघका अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा राहत तथा उद्धार मूल समिति गठन गरिएको छ। आर्थिक सहयोग संकलन, स्वयंसेवक परिचालन तथा राष्ट्रिय समन्वय परिषद् परिचालनका लागि छुट्टाछुट्टै समिति बनाउने निर्णय पनि संघले गरेको छ। प्रभावित क्षेत्रमा चिकित्सकीय टोली तथा स्वयंसेवक तत्काल पठाउने तयारी गरिएको छ। साथै, विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्मार्फत उद्धार तथा राहतका लागि थप सहयोग जुटाइने संघले जनाएको छ।
सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरेर उद्धार, राहत र पुनःस्थापनाका काममा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै एनआरएनएले आफ्ना पदाधिकारी तथा सदस्यलाई राहत अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ। संघले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
.gif)

.png)

