सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व
कर्णालीमा १२ दिनमा १ हजार ३३८ सवारी कारबाही
कर्णाली : कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३३८ सवारीसाधनलाई कारबाही गर्दा १२ दिनमा १२ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन भएको हो।
कारबाही र राजस्व सङ्कलनमा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको छ। सुर्खेतमा ६३८ सवारीसाधनलाई कारबाही गर्दा ५ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए।
त्यस्तै, सल्यानमा २२२ सवारीसाधनलाई कारबाही गर्दा २ लाख १८ हजार ५०० रुपैयाँ, रुकुम पश्चिममा १२७ सवारीसाधनबाट १ लाख ४५ हजार रुपैयाँ र दैलेखमा ९९ सवारीसाधनबाट ९४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
जुम्लामा ६७ सवारीसाधनलाई कारबाही गर्दा ७३ हजार रुपैयाँ, जाजरकोटमा ६८ सवारीसाधनबाट ६१ हजार ५०० रुपैयाँ तथा कालीकोटमा ८२ सवारीसाधनबाट १७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
यसैगरी, डोल्पामा १८ सवारीसाधनलाई कारबाही गर्दा १७ हजार रुपैयाँ, हुम्लामा १५ सवारीसाधनबाट १५ हजार रुपैयाँ र मुगुमा तीन सवारीसाधनलाई कारबाही गर्दा २ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
यस अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २४६ जनालाई समेत कारबाही गरिएको छ। तीमध्ये सुर्खेतका १५७, सल्यानका ४६, दैलेखका १७, रुकुम पश्चिमका नौ, जुम्लाका सात, कालीकोटका पाँच, जाजरकोटका चार र डोल्पाका एक जना रहेका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाहीले राजस्व सङ्कलनसँगै सडक सुरक्षाको विषयलाई पनि महत्त्वपूर्ण बनाएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न नियमित अनुगमन र कारबाही आवश्यक देखिन्छ।
.gif)

.png)



