सरकारले दिएको गैरआवासीय नागरिकता नचल्ने भयो : एनआरएनए अध्यक्ष केसी
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता प्रभावकारी नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ एकता महाधिवेशनमा उनले सरकारको नीतिगत कमजोरीका कारण प्रमाणपत्र प्रयोग गर्न नसकिने स्थिति आएको उल्लेख गरे।
अध्यक्ष केसीका अनुसार सरकारले गैरआवासीय नेपाली नागरिकताको कानुनी अधिकार स्पष्ट गर्ने ऐन नबनाई प्रमाणपत्र वितरण गरेको छ। त्यसकारण नागरिकता लिएपछि पुरानो नागरिकता नभएको र नयाँ नागरिकताले पनि काम नगर्ने अवस्था आएको उनको भनाइ छ।
'आजभन्दा दुई वर्षअगाडि मैले प्रधानमन्त्रीज्यूको हातबाट गैरआवासीय नेपाली नागरिकता लिएको थिएँ। तर आज उक्त प्रमाणपत्र नचल्ने भएको छ,' उनले भने। उनले गैरआवासीय नेपाली ऐनमा सुधार गर्न आवश्यक रहेको र सरकारले छिट्टै कानुनी ऐन ल्याउनुपर्नेमा जोड दिए।
उनले नेपाली मूलका नागरिकलाई जुनसुकै देशमा बसोबास गरे पनि गैरआवासीय नेपाली नागरिकता दिइनु पर्ने बताए। साथै, नेपाली भाषी सम्पूर्णलाई नागरिकता दिएर उनीहरूको लगानी नेपाल भित्र्याउन सहज बनाउनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष केसीले वर्तमानमा नेपालमा लगानी भित्र्याउन समस्या भइरहेको र मध्यपूर्वमा जारी तनावका कारण नेपाली नागरिक ठूलो समस्यामा परेको पनि बताए। सरकारले विदेशीमा रहेका नेपालीको सुरक्षा र हितमा ध्यान दिनुपर्ने उनले आग्रह गरे।
.gif)

.png)

