राप्रपा बागमतीमा ह्वीपको लडाइँ : मुख्यमन्त्रीलाई विश्वासको मत दिन दुईथरी मत

एउटा पक्ष मत दिने पक्षमा, अर्को पक्ष विपक्षमा


२०८३ भदौ ८ सोमबार १२:४६ बजे

काठमाडौं : बागमतीका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने तयारीमा छन्। तर विश्वासको मत लिनुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद प्रदेशसभामा समेत छताछुल्ल भएको छ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा राप्रपाका दुई समूहले प्रदेश सांसदहरूलाई फरक–फरक ह्वीप जारी गरेपछि पार्टीभित्रको विवाद थप चर्किएको हो । राप्रपा प्रदेश प्रमुख सचेतक कुमारी तामाङले आइतबार मुख्यमन्त्री थापा मगरको विपक्षमा मतदान गर्न प्रदेश सांसदहरूलाई निर्देशन दिएकी थिइन्। मतदानमा सहभागी हुन नसक्ने सांसदलाई तटस्थ रहन वा बैठकमा अनुपस्थित हुनसमेत भनिएको थियो ।

तर त्यसको केही समयपछि प्रमुख सचेतककै हैसियतमा डम्बर तामाङले अर्को निर्देशन जारी गर्दै सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत दिन आग्रह गरेका छन्।  डम्बर तामाङले जारी गरेको निर्देशनात्मक पत्रमा भदौ ७ गतेको बैठकको निर्णय, दलका नेताको आदेश तथा राप्रपा संसदीय दलको विधानअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिन भनिएको छ।

यससँगै राप्रपाका प्रदेश सांसदहरू अब पार्टीभित्रका दुई समूहको फरक–फरक निर्देशनको दबाबमा परेका छन्। मुख्यमन्त्री थापाले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री थापालाई विश्वासको मत दिने विषयमा देखिएको विवाद राप्रपाको आन्तरिक शक्ति संघर्षसँग जोडिएको छ। पार्टीको निर्णयविपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको र सरकारलाई समर्थन गरेको आरोपमा राप्रपाले दलका नेता उद्धव थापालाई पदबाट हटाउँदै सदस्यता निलम्बन गर्ने निर्णय गरिसकेको छ।

बागमती प्रदेशसभामा राप्रपाका तीन सांसद पार्टीको निर्णयविपरीत मन्त्री बनेका छन्। उनीहरू सरकारमा सहभागी भएपछि पार्टीभित्र सरकारमा जाने–नजाने विषयको विवाद थप गहिरिएको हो। एकातिर पार्टी नेतृत्वले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीको विपक्षमा उभिने संकेत गरेको छ भने अर्कोतर्फ अर्को समूहले पार्टी संसदीय दलको निर्णय र विधानअनुसार सरकारलाई विश्वासको मत दिनुपर्ने दाबी गरिरहेको छ ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन राप्रपाका सांसदले कुन समूहको ह्वीप पालना गर्छन् भन्ने विषयले प्रदेशसभाको समीकरणसँगै राप्रपाभित्रको शक्ति संघर्षलाई समेत थप स्पष्ट पार्ने देखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७