एसिया कप र यू–१९ विश्वकपका लागि नेपाली महिला टोलीको प्रारम्भिक सूची सार्वजनिक
काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न एसिया कप तथा आगामी वर्ष हुने आइसिसी यू–१९ महिला विश्वकपलाई लक्षित गर्दै नेपाली यू–१९ महिला राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
क्यानले सोमबार सोनी पाख्रिनको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो। प्रतियोगिताको तयारीका लागि पहिलो चरणको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी छनोट गरिएको क्यानले जनाएको छ। प्रारम्भिक टोलीमा कप्तान पाख्रिनसँगै प्रथा श्रेष्ठ, रचना चौधरी, चन्द्रमाया बराल, कुसुम गोदार, रञ्जना साउद, ज्योत्सिका मरासिनी, तिर्सना विश्वकर्मा, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, पूर्णिमा राजवंशी र अञ्जिला पाठक छन्।
यस्तै आशना चौधरी, सुप्रिया बुढा मगर, प्रतिमा साह, साक्षी यादव, आरती महतो, सावित्री धामी, मनीषा चौधरी, जयन्ती भण्डारी, आशिकाकुमारी महरा, अन्जु पार्की, सोनाम जोशी, अनु कडायत, मनीयाकुमारी उपाध्याय, साना प्रवीण र अलिसाकुमार यादव पनि बन्द प्रशिक्षणका लागि छनोट भएका छन्।
क्यानका सचिव पारस खड्काका अनुसार पहिलो चरणको क्याम्पका लागि खेलाडी छनोट गरिएको हो। अन्तिम टोली भने प्रशिक्षण र तयारीका आधारमा पछि घोषणा गरिनेछ। प्रारम्भिक टोलीमा रहेका केही खेलाडीले यसअघि नै नेपाली सिनियर महिला राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन्। युवा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्ने उद्देश्यले क्यानले प्रारम्भिक चरणमा ठूलो समूह छनोट गरेको हो।
नेपालले आसन्न एसिया कपसँगै आगामी वर्ष आयोजना हुने यू–१९ महिला विश्वकपलाई लक्षित गरेर तयारी अघि बढाउनेछ। यी दुवै प्रतियोगिता नेपाली युवा महिला क्रिकेट टोलीका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

.gif)

.png)

