बाढीको अन्तर्राष्ट्रिय असर : १३३ भारतीय, ३४ अष्ट्रेलियन, ५३ युक्रेनी र २४ क्यानेडियन नागरिक बेपत्ता
काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीले स्थानीय नागरिकसँगै ठूलो संख्यामा विदेशी पर्यटकलाई समेत प्रभावित बनाएको छ। बाढी प्रभावित क्षेत्र कैलास मानसरोवर र गोसाइँकुण्डजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यतर्फ जाने प्रमुख मार्ग भएकाले विभिन्न मुलुकका नागरिकहरू जोखिममा परेका हुन्।
प्राप्त विवरणअनुसार अस्ट्रेलियाका ३४ नागरिक बाढीपछि बेपत्ता रहेको पुष्टि भएको छ। बीबीसीका अनुसार अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले उक्त जानकारी सार्वजनिक गरेका हुन्। यस्तै, युक्रेनका ५३ नागरिक बेपत्ता रहेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीका अनुसार २४ जना क्यानेडियन नागरिक पनि बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ।
भारतका मात्रै १३३ नागरिक बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ। यससँगै अन्य मुलुकका पर्यटकसमेत जोड्दा बाढी प्रभावित क्षेत्रमा सयौँ विदेशी नागरिक सम्पर्कविहीन रहेको जनाइएको छ। नेपाल पर्यटन बोर्डका अनुसार अमेरिका, बेलायत, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया र नेदरल्यान्ड्ससहित दुई दर्जनभन्दा बढी देशका नागरिक बाढीको चपेटामा परेका छन्।
जनै पूर्णिमाको अवसरमा गोसाइँकुण्डलगायत धार्मिक गन्तव्यमा भारतसहित विभिन्न देशबाट ठूलो संख्यामा पर्यटक तथा तीर्थयात्री पुग्ने गर्छन्। यही समयमा आएको बाढीले विदेशी नागरिकसमेत प्रभावित भएपछि सम्बन्धित मुलुकका सरकारहरूले नेपाली अधिकारीसँग समन्वय गरी आफ्ना नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिएका छन्।
.gif)

.png)

