चीनले पठायो राहत सामग्री, सैन्य विमानबाट ५० टन सामग्री नेपाल ल्याइयो
काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि चीनले पठाएको करिब ५० टन राहत सामग्री काठमाडौं आइपुगेको छ। राहत सामग्री बोकेको चिनियाँ सैन्य कार्गो विमान आइतबार बिहान काठमाडौं अवतरण गरेको हो।
चीनबाट ल्याइएको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्। चीनले बाढीपीडितका लागि १३ हजार २०० थानभन्दा बढी राहत सामग्री पठाएको जनाएको छ। सामग्रीमा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, कम्प्रेस्ड ड्राइफुड, प्राथमिक उपचार किटलगायत विपद्का समयमा आवश्यक सामग्री छन्। चिनियाँ सहयोगअन्तर्गत ल्याइएको सामग्रीको कुल तौल करिब ५० टन रहेको बताइएको छ।

यसअघि नै चीनले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न चिनियाँ विज्ञ टोली नुवाकोटमा परिचालन गरिसकेको छ। उक्त टोली शनिबारदेखि प्रभावित क्षेत्रमा खटिएर उद्धार तथा प्राविधिक सहयोगमा जुटेको जनाइएको छ।
भोटेकोसीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार तथा राहतका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट सहयोग जुटिरहेको छ।



.gif)

.png)

