विपद्लाई राजनीतिक विषय नबनाऔँ, सबै मिलेर उद्धारमा जुटौँ : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकारको दृष्टिकोण र भूमिका सुधार गर्न आग्रह गरेका छन्। आइतबार पार्टी कार्यालय च्यासलमा रसुवा बाढीपहिरोसम्बन्धी पार्टीको स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै ओलीले विपद्लाई राष्ट्रिय विपत्तिका रूपमा लिएर तीनै तहका सरकार तथा सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्नुपर्ने बताए।
ओलीले रसुवा बाढीपछि सरकार एक्लै अघि बढ्न खोजेको भन्दै विपद्लाई राजनीतिक विषय नबनाई साझा राष्ट्रिय समस्याका रूपमा लिएर सबै राजनीतिक दल र सरकार मिलेर उद्धार तथा राहतमा जुट्नुपर्ने बताए। विपद्मा जस लिने होडबाजी नगरी साझा समाधानका लागि राजनीतिक दलहरू सरकारलाई सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

खोज तथा उद्धारका लागि नेपाल माउन्टेनियरिङ एसोसिएसनजस्ता हिमाली उद्धारमा दक्ष संस्थाको सहयोग सरकारले लिन नसकेको भन्दै ओलीले असन्तुष्टि जनाए। उद्धारका लागि हेलिकप्टर भाडामा लिन र प्रयोग गर्न आवश्यक समन्वय तथा अनुमति नदिइएकोप्रति पनि उनले आपत्ति जनाए।
.gif)

.png)

