नेपालमै पहिलो फ्रेन्चाइज भलिबल लिग, विजेतालाई २० लाख


२०८३ भदौ १७ बुधबार १९:१० बजे

काठमाडौं : नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिग एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ। आयोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले बुधबार पत्रकार सम्मेलनमार्फत विजेतालाई २० लाखसहित प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको जानकारी दिए।

कुल पुरस्कारमध्ये १२ लाख रुपैयाँ उपविजेता, सात विधाका उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई प्रदान गरिनेछ। प्रतियोगितामा ६ टोली सहभागी हुनेछन्। सबै टोलीले एकअर्काविरुद्ध सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन्। लिगको शीर्ष टोली सिधै फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीले अर्को फाइनलिस्टका लागि प्लेअफ खेल्नेछन्।

एनभीएल भदौ १९ देखि २८ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। यसैबीच, बाढीपीडितको सहयोगका लागि प्रतियोगिताको पहिलो दिन बिक्री हुने टिकटबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने एनभीएलका कार्यकारी प्रमुख अधिकृत डा. सन्तोष उपाध्यायले बताए। 

बाढीका कारण देश संकटमा रहेकाले उद्घाटन कार्यक्रमलाई सामान्य बनाइने आयोजकले जनाएको छ। प्रतियोगिताको मस्कटका रूपमा नेपालको राष्ट्रिय चरा डाँफे र थिम गीतसमेत सार्वजनिक गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७