माथिल्लो त्रिशूली–१ को कार्यालयमा तोडफोड, ५३१ कामदारको खोजी प्रभावित


२०८३ भदौ १७ बुधबार १८:५० बजे
फाइल फोटो

काठमाडौं : बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन कामदारको खोजी भइरहेका बेला आयोजनाको काठमाडौंस्थित सम्पर्क कार्यालयमा तोडफोड भएको छ।

मंगलबार आक्रोशित समूहले कार्यालयमा प्रवेश गरी तोडफोड तथा कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि उद्धार, राहत, उपचार तथा सम्पर्कविहीन कामदारको खोजी प्रभावित भएको कम्पनीले जनाएको छ। कम्पनीका बजार तथा व्यापार विकास शाखा प्रमुख शिशिर तामाङका अनुसार आयोजनामा कार्यरत १ हजार १९९ मध्ये ५३१ जना कामदारसँग अझै सम्पर्क हुन सकेको छैन। कम्पनीले प्रभावित कामदारको विवरण संकलन गरी गृह मन्त्रालय र नेपाली सेनामार्फत उद्धारको पहल गरेको जनाएको छ।

कम्पनीले निजी हेलिकप्टर चार्टर गरी उद्धार गर्ने प्रयास गरे पनि सरकारी स्वीकृति, सुरक्षित अवतरणस्थल तथा आवश्यक उपकरण ढुवानीमा समस्या भएपछि प्रयास सफल हुन नसकेको जनाएको छ। कम्पनीले बाढीबाट उद्धार भएर काठमाडौं आएका कामदारलाई होटल, खाना तथा घर फर्किन यात्रा खर्च उपलब्ध गराएको दाबी गरेको छ।

तर, कार्यालयमा भएको तोडफोडपछि कर्मचारीमा त्रास बढेको र केहीले राजीनामा दिन थालेको तामाङले बताए। ‘अहिलेको अवस्थामा हाम्रो ज्यान नै जोखिममा परेको छ । हामी अफिस जान सक्ने स्थितिमै छैनौँ,’ उनले भने। कार्यालयमा उत्पन्न तनावका कारण बाँकी कामदारको विवरण अद्यावधिक गर्ने र खोजी कार्यसमेत प्रभावित भएको कम्पनीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७