भोटेकोशी बाढीबाट ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोड क्षति


२०८३ भदौ २१ आइतबार ०७:४७ बजे
फाइल फोटो

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्। बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा आयोजना क्षतिग्रस्त भएका छन्। ती आयोजनामा मात्रै ४ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विभागले जनाएको छ। विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट धादिङका २०, गोरखाका ५ र रसुवाका ८ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भने जारी रहेको विभागले जनाएको छ।

खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा तत्काल सेवा सञ्चालन गर्न विभागले वैकल्पिक स्रोतको प्रयोगसँगै क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनालाई प्राथमिकता दिएको छ। विशेषगरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ। उक्त जेनेरेटरबाट दैनिक करिब ५ लाख लिटर खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

त्यस्तै, एक एचपी क्षमताका सातवटा पम्प सञ्चालनमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)सँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको छ।

बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा खानेपानी सेवा विस्तारका लागि आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। सेवा विस्तारका लागि दुई एचपी र एक एचपी क्षमताका १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्याङ्की तथा करिब ४१.१ किलोमिटर एचडीपीइ पाइप व्यवस्थापन गरिएको छ।

प्रभावित क्षेत्रमा सामग्री ढुवानी तथा जडान गरी खानेपानी सेवा विस्तार गर्ने तयारी भइरहेको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना र नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली परिचालन गरिएको विभागले जनाएको छ। विभागले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनाको कामलाई पनि अघि बढाएको छ। क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७