भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता


२०८३ भदौ २८ आइतबार ०७:१२ बजे
फाइल फोटो

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न आठ जिल्लाबाट ती शव फेला परेका हुन्।

प्रहरीका अनुसार रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२९ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा हुन नसकेका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ।

शव पहिचानका लागि प्रहरीले मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ डीएनए नमुना संकलन गरेको छ। पहिचान हुन नसकेका १ हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ। यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ। 

बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता रहेको प्रहरीको विवरणमा उल्लेख छ। उनीहरूको खोजी कार्य जारी छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल २ हजार ७१२ जना रहेका छन्। प्रहरीले बेपत्ता व्यक्तिको खोजी तथा शव पहिचानको प्रक्रिया जारी राखेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७