प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विमानस्थलमा तामझाम नहुने, सलामी पनि नलिने


२०८३ असोज ६ मंगलबार ११:४४ बजे

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्रीको पहिलो विदेश यात्रासँगै यसअघिका केही परम्परा तोडिने भएका छन् । विमानस्थलमा विगतमा जस्तो तामझाम नगरी प्रधानमन्त्रीको प्रतिनिधिमण्डल प्रस्थान गर्नेछ । बिदाइका नाममा मन्त्रीदेखि उच्चपदस्थ अधिकारीसम्मको लावालस्कर पनि विमानस्थलमा देखिने छैन ।

प्रधानमन्त्री सचिवालयका एक उच्च स्रोतका अनुसार देशको वर्तमान परिस्थितिका कारण पनि औपचारिक तामझाम गर्ने अवस्था छैन । ‘प्रधानमन्त्री यसै पनि अनावश्यक तडकभडक गर्न रुचाउनुहुन्न । त्यसमाथि अहिले देशमा राष्ट्रिय विपत्तिकै अवस्था छ । त्यसैले विमानस्थलमा बिदाइको तामझाम गर्ने कुनै तयारी छैन,’ स्रोतले भन्यो ।

यसअघिका प्रधानमन्त्रीहरू औपचारिक विदेश भ्रमणमा जाँदा नेपाली सेनाले गार्ड अफ अनर दिने परम्परा थियो । प्रधानमन्त्री शाहको भ्रमणमा भने यो परम्परा पनि तोडिने सम्भावना छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार विदेश भ्रमणका क्रममा गार्ड अफ अनर लिनैपर्ने कुनै प्रोटोकल वा कानुनी बाध्यता रहे/नरहेकोबारे अध्ययन भइरहेको छ ।

‘कुनै नियम, कानुन वा कार्यविधिले त्यस्तो अनिवार्यता गरेको भए बेग्लै कुरा हो । होइन भने प्रधानमन्त्रीले गार्ड अफ अनर पनि लिनुहुन्न । अरू देशमा पनि हामीले यस्तो अभ्यास देखेका छैनौं,’ स्रोतले भन्यो ।

प्रधानमन्त्रीको भ्रमण दल पनि विगतको तुलनामा छरितो छ । प्रधानमन्त्री शाहसँग मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुई सुरक्षाकर्मी र एक शिष्टाचार अधिकृत न्यूयोर्क जानेछन् ।

प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे कतार एयरवेजमार्फत दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली भने यसअघि नै अमेरिका पुगिसकेको छ । प्रधानमन्त्रीका स्वकीय सचिव प्रदीप परियार र सुवास शर्मा पनि न्यूयोर्कमै छन् ।

प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री शाह शनिबार काठमाडौं फर्कने कार्यक्रम छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७